लमजुङ। जिल्लाका सबै गाउँमा यसै वर्ष राष्ट्रिय प्रसारणमार्फत विद्युत वितरणको तयारी भएको छ । नेपाल विद्युत प्राधिकरणले यसै वर्षभित्र जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत वितरणको तयारी गरेको हो । जिल्लाको तीन स्थानीय तहका विभिन्न गाउँमा अझै पनि राष्ट्रिय विद्युत नपुग्दा लघुजलविद्युत मार्फत विद्युतीकरण भएको छ ।
राष्ट्रिय विद्युत वितरण बाँकी रहेका दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ अन्तर्गतका सबै गाउँ, मस्र्याङ्दी गाउँपालिकाको वडा नम्बर–४ अन्तर्गत जगत र च्याम्चे गाउँ र क्होलासोँथार गाउँपालिका–४ अन्तर्गत भुजुङ गाउँमा राष्ट्रिय विद्युत प्रसारण लाइनको अन्तिम तयारी भएको नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जनाएको छ ।
कार्यालयका अनुसार राष्ट्रिय प्रसारणमार्फत विद्युत वितरणका लागि सबै स्थानमा संरचना निर्माण भइसकेको छ । अब उपभोक्तालाई मिटर वितरण तथा जडानपछि विद्युत सेवा प्रवाह हुने कार्यालय प्रमुख मेघनाथ भट्टराईले बताए । ‘राष्ट्रिय प्रसारणलाइन पुग्न बाँकी सबै गाउँमा संरचना निर्माण भइसकेको छ,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘यही वर्ष जिल्लाका सबै गाउँमा राष्ट्रिय विद्युत प्रसारण लाइनमार्फत विद्युत सेवा प्रवाह गराउने तयारी छ ।’
विद्युत वितरण केन्द्र लमजुङका अनुसार सबै वडामा विद्युत पोल र तार जडान भइसकेको र क्होलासोँथारको भुजुङमा पनि मिटर वितरण भइरहेको छ । यसैगरी दूधपोखरीको वडा नम्बर २ मा विद्युत परीक्षण सम्पन्न गरी वडाबासीलाई मिटर वितरणको प्रक्रिया अघि बढेको छ । ‘भुजुङमा राष्ट्रिय प्रसारणलाइन जडानपछि तत्कालै मस्र्याङ्दीको जगत र च्याम्चेमा मिटर वितरण सुरु हुन्छ,’ भट्टरार्ईले भने, ‘यही वर्ष जिल्लाका सबै गाउँमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत सेवा उपलब्ध गराइने हाम्रो तयारी छ, त्यो पूरा पनि हुन्छ ।’
राष्ट्रिय विद्युत नपुगेका गाउँमा स्थानीय नागरिक लघुजलविद्युतकै भरमा बस्न बाध्य भएका छन् । स्थानीयले लघु जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युतले गुजारा चलाउँदै आएका हुन् । दशकअघि निर्माण भएका लघुजलविद्युत आयोजनाको भरमा काम चलाउँदै आएका स्थानीयले राष्ट्रिय प्रसारणलाइन नहुँदा अपेक्षित सहज नभएको गुनासो गर्दै आएका छन्। कारोबार दैनिकबाट