दाङ। घोराही र तुलसीपुरमा बबई लिफ्टिङको कामलाई तीव्रता दिइएको छ । घोराही र तुलसीपुरमा ट्यांकी बनाउनेदेखि पाइपलाइनसम्मको काम भइरहेको खानेपानी आयोजनाले जानकारी दिएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले घोराहीमा र तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले तुलसीपुरमा बबई लिफ्टिङको काम गरिरहेका छन् ।
घोराही क्षेत्रमा कम्तीमा १२० लिटर प्रतिसेकेन्ड अर्थात् करिब एक करोड लिटर र तुलसीपुर क्षेत्रमा पनि त्यसकै हाराहारीमा दैनिकरूपमा पानी संकलन गर्ने लक्ष्यअनुरुप आयोजनाको काम भइरहेको छ । जसका लागि घोराहीमा दुईवटा सम्पवेल अर्थात् ठूलो कुवा बन्दैछ । पाँचवटा डिप बोरिङ, पानी संकलन गर्ने ट्यांकी आरभिटी तीनवटा, एउटा ओभरहेड ट्यांकी बन्दैछ ।
बबई लिफ्टिङ आयोजनाअन्तर्गत तुलसीपुरमा पनि तीनवटा सम्पवेल, त्यसको तीन सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान्ट र ट्यांकी बन्ने ठाउँमा ६ वटा मल्टिग्रेड प्रेसर फिल्टर बन्नेछन् । आयोजनाले चारवटा ओभरहेड ट्यांकी निर्माण गर्नेछ । शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतीपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० घनमिटर ओभरहेड ट्यांकी निर्माण गरिनेछ भने डुम्रिगाउँमा ६ सय घनमिटर र खानेपानी कार्यालय परिसरमा तीन सय घनमिटर क्षमताको अन्डरग्राउन्ड ट्यांकी निर्माण गरिने छ ।
त्यसैगरी शीतलपुरमा पाँच सय घनमिटरको आरभिटी कलेक्सन चेम्बर, दुई स्थानमा तीन सय घनमिटरको इन्टरमिडिएट आरभिटी ट्यांकी र ६ वटा डिपबोरिङ बन्नेछन् । आयोजनामा प्रसारण पाइपलाइन २८ दशमलव ३१५ किलोमिटर र पानी वितरण पाइप १२५ दशमलव ७५२ किलोमिटर हुने बताइएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गौरवको आयोजना भनेको बबई लिफ्टिङ सहलगानी आयोजना पूरा भएपछि ३५ देखि ४० वर्षसम्म दैनिक २४ सै घण्टा पानी उपभोक्तमाझ पुर्याउन सकिने दाबी गरेको छ ।
संस्थाका अध्यक्ष देवीबहादुर डिसीले भविष्य सोचेर बनाएको योजना भएकाले नयाँ १२ हजार घरधुरी घोराहीमा थपिँदासम्म धान्न सकिने बताए । ‘तत्काल त पानी पुगेकै अवस्था छ भविष्य सोचेर बनाएको योजना हो यो,’ उनले भने, ‘४० वर्षको लक्ष्य छ १२ हजार नयाँ घरधुरी थपिँदासम्म पनि यो आयोजना पूरा भएपछि पानी पुग्छ ।’
घोराहीमा अहिले ८९ सामुदायिक धारा र सात हजार ८४५ निजी गरी सात हजार ९३४ धारा जडान भएको संस्थाले जनाएको छ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको भौतिक संरचना दुई हजार ५३५ घनमिटर पानी अट्ने क्षमताको छ । प्रतिसेकेन्ड १३० लिटर पानी सञ्चय गरिने र प्रतिदिन ५५ लाख लिटर पानी वितरण गर्ने गरेको संस्थाले जानकारी दिएको छ ।
उता तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ११ हजार बढी धारा जडान गरेको जनाएको छ भने दैनिक एक करोड लिटर पानी संकलन र वितरण गर्दै आएको छ । बबई लिफ्टिङको आयोजना पश्चात कम्तीमा थप दैनिक एक करोड लिटर पानी संकलन हुनेछ । त्यो पानी तुलसीपुरमा आएपछि १५ वर्ष पानीको समस्या तुलसीपुरमा नहुने संस्थाका सचिव सेवकराम भण्डारीले बताए । कारोबार दैनिकबाट