जुम्ला। सिंजा गाउँपालिका–६ भाडगाउँस्थित दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ । सिटिईभिटीले स्वीकृत प्रदान गरे पनि जग्गा पास नहुँदा काम अघि बढेको थिएन । बिहीबार मालपोत कार्यालय जुम्लामा १७ हजार १६५ वर्गमिटर जग्गा नामसारी गरेसँगै शिक्षालय निर्माणको बाटो खुलेको हो । शिक्षालय स्थापनाका लागि सिंजा गाउँपालिका–६ का स्थानीयले १७ हजार १६५ वर्गमिटर जग्गा दान गरेका हुन् ।
स्थानीयले लाखौं मूल्य बराबरको जग्गाा निस्शुल्क दान गरेपछि शिक्षालय स्थापनाको बाटो खुलेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, ‘गाउँपालिकाको लगातार प्रयासपछि सिटिईभिटीले स्वीकृति प्रदान गरेको थियो । स्थानीय पनि दिलौरीमा जग्गा दिन तयार थिए । तर जग्गा कानुनी प्रक्रियानुसार नामसारी नहुँदा काम अघि बढेको थिएन । अब जग्गा पनि कित्ताकाट भइसक्यो । चाँडै शिक्षालय निर्माणको प्रक्रिया अघि बढ्छ ।’
भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्ने गरी आङ्गिक शिक्षालयका रूपमा स्थापना गरिने अध्यक्ष धितालको भनाइ छ । बहुप्राविधिक शिक्षालयको नाममा लाखौंको जग्गा निःशुल्क प्राप्त गर्न सफल भएकोमा अध्यक्षले जग्गादातालाई धन्यवाद दिए । यसअघि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटी) सानोठिमी भक्तपुरले सिंजामा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटिईभिटीका पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले बताए ।
उनले भने, ‘स्वीकृत प्राप्तसँगै जग्गा प्राप्तिको प्रक्रिया थालिएको थियो । यहाँको कृषि सम्भावनालाई अवसरमा बदल्न, अध्ययन अनुसन्धानका लागि दक्ष जनशक्ति उत्पादन गर्न र रोजगारी वृद्धि गर्न प्राविधिक शिक्षाको महत्व छ । घर आँगनमै प्रविधिक शिक्षा आर्जन गरी मुलुकको दक्ष जनशक्ति बन्ने एक अवसर पनि हो । बजेट जुटाउन सबैले पहल गर्न आवश्यक छ ।’
सिञ्जा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीले प्राविधिक शिक्षाले परनिर्भताको अन्त्य गर्ने भएकाले सिंजामा बहुप्राविधिक शिक्षालय स्थापना हुनु गौरवको विषय भएको बताइन् । उनले भनिन्, ‘बिना स्वार्थ जग्गा दिने जग्गादाताको योगदानलाई पालिकाले उच्च कदर गर्नुपर्छ । बजेट पालिकाका जनप्रतिनिधिदेखि सबै दलले बजेट जुटाउन पहल गर्नुपर्छ । चाँडै निर्माण कार्यलाई अघि बढाउनु पर्छ । विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेछ ।’
शिक्षा क्षेत्रको लगानीले भविष्यमा समाज, जिल्ला र राष्ट्रको समृद्धिका लागि उपलब्धिमूलक हुने भएकाले पनि प्राविधिक शिक्षामा जोड दिनु अत्यावश्यक छ । २०३७ सालमा नेपालकै पहिलो प्राविधिक शिक्षालयका रूपमा स्थापना भएको कर्णाली प्राविधिक शिक्षालय राज्यको उपेक्षामा छ । कारोबार दैनिकबाट