पाँचथर। फिदिम नगरपालिका–१ का सूर्य राई अहिले घरमा त्यति बस्दैनन् । घरको काम सकेसम्म चाँडो सकेर उनी खानेपानी पाइपलाइनमा श्रमदान गर्न पुग्छन् । श्रमदानस्थलमा कोदालो, गैंती र हथौडा लिएर ढुंगामाटोको काम गर्न खट्ने उनी श्रम अभियान सुरु भएपछि पानीको बहाब बढेको देखेर झनै हौसिएका हुन् ।
श्रमदानमा जुट्दा शारीरिक अभ्याससँगै सामूहिक लाभ हुने उनले बताए । फिदिम बजारका हरि बराइली पनि सूर्यसँगै दैनिकजसो श्रमदानमा जुटिरहेका भेटिन्छन् ।
२२ किलोमिटर टाढा भीरको बाटो ल्याइएको खानेपानीका पाइप मर्मत गर्नसमेत समस्या हुन थालेपछि फिदिम खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले श्रमदान अभियान सञ्चालन गरेको हो । ‘फुर्सदमा बसेर समय बर्बाद पार्नुको साटो एकजुट भएर श्रम गरौं, दिनभर क्यारमबोर्ड र लुँडो खेलेर समय बर्बाद गरिरहेका मित्रहरूलाई श्रममा जोडिन आह्वान गर्छु,’ बराइलीले भने ।
मूल ट्यांकीभन्दा २२ किलोमिटर टाढा रहेको आतवा र तितवा मुहानदेखि ल्याइएको खानेपानी यहाँका उपभोक्ताका लागि पर्याप्त छैन । भीरपाखा हुँदै ल्याइएको पाइपलाइन टुटफुट हुँदा र पहिरो जाँदा मर्मत गर्न समस्या हुन्थ्यो । समस्या पहिल्याए पनि आवश्यक सामग्री भीरैभीर बोकेर लैजानुपर्ने अवस्था थियो ।
समस्याको दीर्घकालीन समाधानका लागि श्रममा जुट्न आह्वान गरिएको उपभोक्ता समितिका अध्यक्ष प्रकाश गुरुङ बताउँछन् ।फिदिम–१ का ओमप्रकाश पोखरेल र फिदिम–४ का राजेन्द्र अधिकारी पनि प्रायः खानेपानी पाइपलाइनमा श्रम गर्न पुग्छन् । ‘सबै जना पुगिरहने भएकाले श्रमदान भइरहेका स्थानमा पुगेर दिनभर ढुंगामाटोको काम गर्दा बेग्लै आनन्द आउँछ,’ पोखरेलले भने । समितिले आह्वान गरेको श्रम अभियानमा स्थानीयसँगै सेना, प्रहरी र सशस्त्र प्रहरीले पनि सघाइरहेका छन् । यसअघि पाइप लाइनमा गोरेटो बाटो थिएन । श्रम अभियान सुरु भएसँगै नयाँ–नयाँ मुहानको पहिचान, पाइपलाइनसम्म पुग्न ढुंगा र काठेपुल निर्माण र गोरेटो बनाउने जस्ता काम भइरहेका छन् ।
अभियान सुरु भएपछि पानीको मूल ट्यांकी पहिले रहेको ठाउँदेखि ५ सय मिटरमाथि सार्नुका साथै थप ५ वटा मूलको पानी मिसाइएकाले ट्यांकीसम्म बहाव बढ्नुका साथै उपभोक्ताको अभाव टर्न थालेको छ । श्रम अभियान सुरु भएपछि त्यसको प्रभाव पनि देखिन थालेको उपभोक्ताले बताए । गत वर्षसम्म दैनिक एक घण्टा राम्ररी पानी नआउने यहाँका धारामा अहिले पर्याप्त पानी आइरहेको फिदिम–४ की सपना तुम्बापोले बताइन् । ‘पहिले खाना पकाउन र भाँडाबर्तन धुन पनि पुग्दैनथ्यो, अचेल त करेसाबारी भिजाइवरी मज्जाले उभ्रिन्छ,’ उनले थपिन्, ‘अहिले त दैनिक ३ घण्टासम्म पानी आइरहन्छ ।’
फिदिममा २०७१ सालदेखि नै खानेपानी आयोजना सञ्चालन भएको हो । लामो समय मर्मत नहुँदा जीर्ण मुहान र पाइप मर्मतका लागि जुट्न स्थानीयलाई आह्वान गरेको अध्यक्ष गुरुङले सुनाए । श्रमदान जुटाएर फिदिम–१ खानेपानी ट्यांकीदेखि मुहानसम्म पुग्न पाइप लाइनमा गोरेटो बाटो निर्माण गर्ने कामले तीव्रता पाएको छ भने पाइप झुण्डिएको भिरालो जग्गामा काठका पुल बनाइएको छ । ‘सबैभन्दा अप्ठेरो र जोखिमपूर्ण मानिने महभीरमा घिर्नी बनाएर केवल लाइनमार्फत पाइप व्यवस्थित गर्ने काम भइरहेको छ,’ अध्यक्ष गुरुङले भने । गत जेठदेखि सुरु भएको अभियानमा हालसम्म ५ हजारभन्दा धेरैले श्रमदान गरिसकेको उनले बताए । कान्तिपुरबाट