सुर्खेत। निर्माणाधीन भेरी कोरिडोर अन्तर्गतका सडक निर्माणका लागि बजेट अभाव भएको छ । चालु आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन नहुँदा काम अघि बढाउन समस्या भएको हो । कोरिडोर अन्तर्गतका विभिन्न खण्डमा सडक स्तरोन्नतिका काम भइरहेका छन् । दु्रत गतिमा काम अगाडि बढिरहेको भए पनि छिन्चु–जाजरकोट सडक स्तरोन्नतिका लागि बजेट अभाव भएको हो ।
चालु आर्थिक वर्षबाट सडक स्तरोन्नतिको काम थालिएको छ । सडक डिभिजन कार्यालय सुर्खेतका अनुसार भेरीगङ्गा नगरपालिकाको साँधी खोलादेखि गुर्भाकोट नगरपालिकाको पोखरेसम्म २० किलोमिटर सडक निर्माण थालिएको हो । सडक स्तरोन्नतिका लागि २०८० वैशाख ५ गते केएस कन्स्ट्रक्सन कैलालीसँग ठेक्का सम्झौता गरिएको छ । ७९ करोड ७८ लाखमा सम्झौता गरिएको हो ।
सम्झौता अनुसार २०८३ वैशाख ४ गतेसम्म निर्माण गरिसक्नुपर्ने उल्लेख छ । चालु आर्थिक वर्षमा सरकारले न्यून बजेट विनियोजन गरेको छ । तीन करोड ७५ लाख मात्र विनियोजन गरिएको छ । यसअघि नै तीन करोड खर्च भइसकेको छ । हालसम्म करिब सात करोडको काम भइसकेको कार्यालयले जनाएको छ तर बजेट न्यून हुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन समस्या भएको कार्यालयका सूचना अधिकारी टोपनाराण पौडेलले बताए । उनका अनुसार काम सुरु भएको १० महिनाको अवधिमा करिब सात करोडको काम भएको छ । अहिलेसम्म तीन करोड मात्र भुक्तानी भएको छ । निर्माण व्यवसायीलाई काम गरेबापतको भुक्तानी दिन नसक्दा सडक निर्माणको काम नै रोक्नुपर्ने अवस्था आएको सूचना अधिकारी पौडेलले जानकारी दिए।
भेरी कोरिडोर अन्तर्गत छिन्चु–जाजरकोट सडकखण्डमा पक्की नाला निर्माण, टेवा पर्खाल निर्माणको काम भइरहेको छ तर अर्थ मन्त्रालयले थप बजेट नदिएकाले काम रोकिने अवस्थामा पुगेको कार्यालयका सूचना अधिकारी पौडेल बताउछन् । अर्थ मन्त्रालयसँग थप बजेट माग गरिएको उहाँको भनाइ छ । निर्माण कम्पनीले काम गर्छुभन्दा पनि बजेट अभावले काम अघि बढाउन समस्या भएको उनले बताए।
कोरिडोर निर्माण भएमा तिब्बतको मरिम्ला र भारतको रुपैडिहाबिच सिधा सम्पर्क जोडिने छ । जाजरकोट, रुकुम र डोल्पाको भूगोललाई राष्ट्रिय राजमार्गमा जोड्ने अवधारणा अनुरूप निर्माण कार्य अघि बढाइएको हो । सडक निर्माणले डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले बजार र उचित मूल्य पाउने अपेक्षा गरिएको छ । रुकुमको चौरजहारी र जाजरकोट सदरमुकामलाई २०६५ मा सडक सञ्जालसँग जोडेसँगै जाजरकोट–डोल्पा सडक निर्माणको काम सुरु भएको थियो । सडक निर्माण थालिएको डेढ दशक पुगेको छ । सडक निर्माणको काम तीन वटा कार्यालयले छुट्टाछुट्टै रूपमा गरिरहेका छन् । त्यसमध्ये सडक डिभिजन कार्यालय सुर्खेतले छिन्चुदेखि छेडासम्म ६९ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ ।
यसैबिच निर्वाचन क्षेत्र रणनीतिक सडक स्तरोन्नतिका लागि पनि बजेट अभाव भएको छ । पश्चिम सुर्खेतमा निर्माण भइरहेको खम्बागाडे–बाबियाचौर–गुटु सडक निर्माणका लागि बजेट अभाव भएको हो । २०७८ चैत २४ गतेदेखि उक्त सडक स्तरोन्नतिको काम थालिएको थियो । भीमेश्वर खड्का जेभी नेपालगन्जसँग सडक डिभिजन कार्यालय सुर्खेतले ठेक्का सम्झौता गरी काम अघि बढाएको हो । १० किलोमिटर सडक निर्माणका लागि काम अघि बढेको छ ।
२०८१ वैशाख ४ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी काम सुरु गरिएको हो । १८ करोड ९० लाखमा कामको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । हालसम्म ४० प्रतिशत भौतिक प्रगति र ३० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । चालु आर्थिक वर्षमा एक करोड मात्र बजेट विनियोजन भएको छ । बजेट अभावले काम अघि बढाउन समस्या भएको कार्यालयका इन्जिनियर अशोक चौधरीले बताए। गोरखापत्रबाट