काठमाडाैं । बिवाईडीले पानीमाथि तैरिने गाडी बनाएको छ । चीनिया कम्पनी बिवाईडीले पानीमाथि तैरिने याङवाङ युऐट गाडीलाई पहिलो पटक सन् २०२३ को जनवरीमा सार्वजनिक गरेको थियो ।
कार्स न्युज चाइनाकाअनुसार यो गाडी दुई भेरियन्टमा छ, एउटा प्रिमियम एडिसन र अर्को अफ रोड मास्टर । कम्पनीले यो गाडीलाई गत वर्षको अक्टोबरमा आफ्नो स्थानीय बजार अर्थात चीनमा बिक्री गर्न सुरु गरेको थियो ।
याङवाङ यु ऐटमा सैन्य ट्यांकमा जस्तै एकै पटकमा ३६० डिग्री घुम्ने क्षमता पनि छ । गाडीको सार्वजनिक कार्यक्रममा नै यसलाई साँधुरो स्टेजमा ३६० डिग्री घुमाएर देखाइएको थियो । यो विशेषताले गर्दा साँधुरोभन्दा साँधुरो बाटोमा पनि गाडीलाई युटर्न गराउन सकिने कम्पनीले दाबी गरेको छ । गाडीमा रहेका चार वटा चक्काहरुलाई छुट्टा छुट्टै नियन्त्रण गर्न सक्ने सुविधा भएका कारण यो गाडीलाई ३६० डिग्री घुमाउन मिल्ने विशेषता रहेको छ ।
गाडीको इन्टेरियरमा नप्पा लेदर, सेपल वुड, डाइनौडियो अडियो सिस्टमसहितका स्पीकर, मसाज र थुप्रै डिस्प्लेहरु छन् । गाडीभित्र रहेको प्रमुख सेन्ट्रल स्क्रीन नै १२.८ इन्चको ओलेट रहेको छ भने बाँकी दुई स्क्रिनहरु २३.६ इन्चका रहेका छन् । गाडीको इन्टेरियर हरेक रुपमा लक्जरी महसुस गराउने किसिमको रहेको छ ।
यो गाडीमा ‘डिसस–पी इन्टेलिजेन्ट हाइड्रोलिक बडी कन्ट्रोल सिस्टम’ रहेको छ । यो सुविधाले गाडीको कुनै एउटा टायर पन्चर भएको खण्डमा तीन वटा चक्का पनि चल्न सक्ने सुविधा दिन्छ ।
डिजाइनदेखि यसमा भएका विशेषताहरु सम्पूर्ण लक्जरी छन् । अफरोड गर्न मिल्ने एसयुभी भएका कारण यो गाडी आकर्षक पनि छ ।
यो गाडी ५.३ मिटर लामो, २.०५ मिटर चौडाई र १.९२ मिटर अग्लो रहेको छ भने गाडीको ह्विल बेस ३.०५ मिटर लामो रहेको छ। गाडीमा फ्युल ट्यांकको क्षमता भने ७५ लिटरको रहेको छ ।
हाइब्रिड भएका कारण यो गाडीमा रहेको ब्याट्रीको कुरा गर्दा यसको क्षमता ४९.०५ किलोवाट घण्टाको ब्याट्री रहेको छ । सुपरचार्ज इन्जिन भएका कारण फास्ट चार्जिंगमा ब्याट्रीलाई ३० देखि ८० प्रतिशत चार्ज हुन ०.३ घण्टा लाग्ने कम्पनीले जनाएको छ भने स्लो चार्जिंगमा ८ घण्टा लाग्ने कम्पनीले जनाएको छ । विद्युतीय उर्जाको मात्रै प्रयोग गर्ने हो भने गाडीले १८० किमिको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा रहेको विद्यूतीय मोटर १ हजार १९७ पास्कल क्षमताको रहेको छ ।