काठमाडौं। बाढी,पहिरो, भूकम्प, नाकाबन्दी तथा स्थानीय अवरोध झेल्दै निर्माण सम्पन्न भएको १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत आयोजनाको संरचनाहरूको परीक्षण भइरहेको छ । चिलिमे जलविद्युत कम्पनीको सहायक मध्यभोटेकोसी जलविद्युत कम्पनीले सिन्धुपाल्चोकमा निर्माण गरेको आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको हो ।
पछिल्लो २ सातादेखि आयोजनाको सुरुङमा पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको कम्पनीले जनाएको छ। आयोजनाको ७ किलोमिटर लामो मुख्य सुरुङ परीक्षणका क्रममा एक स्थानबाट पानी चुहिने समस्या देखिएको छ।
आयोजनाको विद्युत नेपाल विद्युत प्राधिकरणको बाह्रबिसे सबस्टेसनसम्म पुर्याउने प्रसारण लाइन तथा प्राधिकरणको सबस्टेसन निर्माणको काम बाँकी नै रहेकाले विद्युत उत्पादन सुरु हुन समय लाग्ने देखिएको हो ।
आयोजनाको विद्युतगृहदेखि बाह्रबिसे सबस्टेसनसम्म प्रवद्र्धक कम्पनीले निर्माण गरिरहेको प्रसारण लाइनको काम स्थानीयले मुआब्जा बढाउन माग गरेर अवरुद्ध पारेका छन् । प्रसारण लाइनको रुटमा पर्ने १३ वटा मध्ये ६ वटा टावरमा स्थानीयले तार तान्न दिएका छैनन् ।
स्थानीयसँग वार्ता तथा छलफल गरेर समस्या समाधानको प्रयास भइरहेको शिवाकोटीले बताए । विद्युत प्राधिकरणको प्रसारण लाइन तथा सबस्टेसनको निर्माण पूरा हुन पनि अझै २ महिनाभन्दा बढी समय लाग्ने देखिन्छ । प्रसारण प्रणालीको संरचना निर्माण सम्पन्न भएपछि मात्रै आयोजनाबाट विद्युत उत्पादन सुरु गर्न सकिने उनले बताए ।
सन् २०१४ मा निर्माण सुरु भएको आयोजना सम्पन्न हुन एक दशक लाग्दा आयोजनाको कूल लागत अनुमानितभन्दा २ अर्ब ७४ करोड ९६ लाख रुपैयाँ बढेको छ । आयोजना निर्माण सम्पन्न गर्न ब्याजबाहेक
१२ अर्ब २८ करोड ३३ लाख रुपैयाँ रुपैयाँ अनुमान गरिएको थियो । अब यो बढेर ब्याजबाहेक १५ अर्ब ३ करोड २ लाख ९० रुपैयाँ पुग्ने देखिएको छ ।