काठमाडौं । वाणिज्य बैंकले फागुन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । १८ वाणिज्य बैंकले प्रकाशित गरेको सूचनाअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा यी बैंकहरुको औसत ब्याजदर ०.३९ प्रतिशत विन्दुले घटेको छ ।
माघ महिनामा ८.११ प्रतिशत विन्दु रहेको व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरुको औसत ब्याजदर, फागुनमा घटेर ७.७१ प्रतिशत विन्दुमा सीमित भएको छ । त्यसैगरी, संस्थागत मुद्दती निक्षेपमा पनि बैंकहरुको औसत ब्याजदर ०.३८६५ प्रतिशत विन्दुले घटेको छ ।
फागुन महिनाका लागि सर्वाधिक ब्याजदर कृषि विकास बैंकले घटाएको छ । माघ महिनामा व्यक्तिगत मुद्दतीमा ७.२६ प्रतिशत ब्याज दिएको बैंकले फागुनमा भने अधिकतम ६.४४३ प्रतिशत ब्याज दिने भएको छ । साथै, व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर ०.८१ प्रतिशत विन्दुले घटाएको पनि बैंकले जनाएको छ ।
फागुनको लागि लक्ष्मी सनराइज, माछापुच्छ्रे, हिमालयन र एभरेष्ट बैंकले माघ कै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्। लक्ष्मी सनराइज, माछापुच्छ्रे, र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत यथावत राखेका छन्।
हिमालयन बैंकको भने माघ र फागुन दुवै महिना व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.१५ प्रतिशत कायम राखेको छ। फागुनमा कृषि विकास बैंकले सबैभन्दा कम ब्याजदर प्रस्ताव गरेको छ। यो बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.४४ प्रतिशत ब्याजदर दिने भएको छ। राष्ट्रिय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंकको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ७.३५ प्रतिशत छ।
प्राइम कमर्सियल बैंकको ७.४ प्रतिशत, नेपाल बैंकको ७.२५ प्रतिशत, सानिमा बैंकको ७.५१ प्रतिशत, प्रभु बैंकको ७ प्रतिशत छ। नेपाल इन्भेस्टमेन्ट बैंकको अधिकतम ८ प्रतिशत, एनएमबी बैंकको ८.५ प्रतिशत,ग्लोबल आइएमइ बैंकको ७.६ प्रतिशत र नबिल बैंकको ७.७६ प्रतिशत ब्याजदर दिएको छ।
व्यक्तिगत मुद्दती निक्षेपमा नेपाल एसबीआई बैंकले अधिकतम ८.१ प्रतिशत, कुमारी बैंकले ८.०१ प्रतिशत र एनआइसी एशिया बैंकले ८ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ।
केही बैंकलाई पुँजी कोषको कारण अहिले पनि तरलतामा दबाब छ। यही कारण त्यस्ता बैंकले ब्याजदर माघ र फागुनको लागि यथावत राखेका छन्।
राष्ट्र बैंकले समेत बैंकहरूले हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले मात्रै परिवर्तन गर्न सक्ने व्यवस्था गरिदिएको छ। यो नीतिमा राष्ट्र बैंक लचिलो नहुने संकेत दिदै आएको छ।
हाल बैंकहरूमा अझै ५ खर्ब हाराहारी अधिक तरलता छ। पछिल्लो समय लगानीकर्ताहरूको आत्मविश्वास घटेको, उपभोग नबढेको कारण बजार मागमा कमी आएको छ। यसले गर्दा बैंकमा कर्जा माग पनि घटेको छ।
फागुन महिनामा हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी सनराइज बैंक र माछापुच्छ्रे बैंकले भने माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।