काठमाडौं। औद्योगिक क्षेत्रमा नेपाल विद्युत प्राधिकरणले ऊर्जा आपूर्ति बढाएपछि दैनिक विद्युत खपत ५० लाख युनिटसम्म बढेको छ। गत वर्ष यही समयमा दैनिक दुई करोड २०।२५ लाख युनिट विद्युत खपत हुने गरेकोमा अहिले भने दुई करोड ७०।७५ लाख युनिटसम्म खपत भइरहेको हो।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पछिल्लो समय उद्योगको दैलोमै पुगेर विद्युत खपत बढाउने अभियान चलाइरहेका छन्।होङ्शी सिमेन्टमा ३० मेगावाट विद्युत आपूर्ति सुरु गरेसँगै घिसिङले नवलपरासी क्षेत्रका अन्य उद्योगले मागेको सानो तिनो विद्युत लोड पनि तत्कालै स्वीकृत गरेका थिए।
यसैगरी घिसिङ शनिबार मात्रै बारा र पर्साका औद्योगिक क्षेत्रको भ्रमणमा पनि गएका थिए। विद्युत खपत बढाउने अभियान चलाइरहेका घिसिङको यो पहलपछि दैनिक खपत हुने विद्युतीय ऊर्जा औसतमा ५० लाख युनिटसम्म बढेको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए।
१५ दिन अघिको तुलनामा पनि हाल दैनिक २५ देखि ३० लाख युनिटसम्म विद्युत खपत बढेको छ। अहिलेको खपत बढ्नुको कारण उद्योगतर्फको आपूर्ति बढ्नु र घरायसीतर्फ पनि चिसोका कारण विद्युतीय उपकरणको प्रयोग बढ्नुनै रहेको भट्टराईले जानकारी दिए।
कार्यकारी निर्देशक घिसिङका अनुसार उद्योगले आफूले बनाउने संरचना बनाएलगत्तै २०० मेगावाटसम्म विद्युत आपूर्ति दिने गरी प्राधिकरणले प्रसारणलाइन स्तरोन्नतिको काम अघि बढाएको छ।
अहिले सरकारले डण्डी उद्योगलाई नेपालमै ब्लेड उत्पादन गर्न प्रोत्साहन गरेसँगै धेरैजसोले प्लान्ट लगाउन सुरु गरिसकेका छन्। त्यस्तै केही सिमेन्ट र डण्डी उद्योगले क्षमता विस्तार र शाखा उद्योग पनि स्थापना गरेकाले विद्युत माग क्रमिक रुपमा बढ्दै गएको प्राधिकरणको भनाइ छ।
नेपालमा अहिले विद्युतको जडित क्षमता दुई हजार मेगावाट पुगे पनि अधिकतम विद्युत माग भने १६०० मेगावाटसम्म मात्रै पुगेको रेकर्ड छ। अहिले उच्चतम माग घटेर १५०० मेगावाट हाराहारीमा सीमित भएको छ।
अहिले नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रका आयोजनाबाट समान एक करोडदेखि एक करोड १० लाख युनिटसम्म ऊर्जा आपूर्ति भइरहेको छ। प्राधिकरणका सहायक कम्पनीमार्फत भने ६० देखि ७० लाख युनिट विद्युत आपूर्ति भइरहेको छ।
विद्युत खेर जाने समयमा भने विद्युत प्राधिकरण र सहायक कम्पनीमार्फत गरेर एक करोड युनिटभन्दा कम मात्रै विद्युत आपूर्ति हुने गरेको थियो। निजी क्षेत्रबाट भने एक करोड ५० लाख युनिटसम्म विद्युत आपूर्ति भएको थियो।