काठमाडौं। सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गर्ने भएको छ। सवारी तथा यातायात व्यवस्था विधेयक–२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्। चलायमान रहने यो क्षेत्रको तीन दशकभन्दा अघिको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन–२०८० जारी गर्न लागिएको हो।
मन्त्रालयले तयार गरिरहेको नयाँ विधेयकले सवारी तथा यातायात क्षेत्रमा भएका विषयहरू समेट्ने र समस्याहरूको समाधान गर्ने अपेक्षा लिइएको छ।
नयाँ विधेयकमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी नयाँ व्यवस्था लागू हुने सम्भावना उच्च छ। लाइसेन्सको बहाल अवधि दस वर्षको हुने व्यवस्था लागू गर्न खोजिएको हो। अहिले पाँच वर्ष छ।
म्याद नाघेको पाँच वर्षसम्म पनि थप दस्तुर बुझाई नवीकरण नगरेमा लाइसेन्स स्वतः रद्द हुने प्रस्ताव पनि अघि सारिएको छ।
ठूला सवारी चलाउन चालकको उमेर २३ वर्ष र मझौला तथा साना चारपांग्रे चलाउन २१ वर्ष पूरा हुनुपर्ने व्यवस्था गरेको छ। दुईपांग्रे (बाइक तथा स्कुटर) चलाउन भने १८ वर्ष पूरा हुनुपर्नेछ।
व्यावसायिक सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि सामान्य लेखपढ भए पुग्ने व्यवस्था थियो।
हालसम्म विभागबाट जारी भइरहेको लाइसेन्स प्रदेश सरकार अन्तर्गतका निकायबाट जारी हुने व्यवस्था पनि विधेयक मस्यौदा समेटिएको छ। यसका लागि प्रदेश सरकारसँग छलफल समेत भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएको विभागले जनाएको छ।