दाङ। गौरवको आयोजनाको रूपमा रहेको घोराहीको बबइ खोलादेखि तुलसीपुरसम्मको सडकलाई चारलेन बनाउन प्रस्ताव गरिएको छ । यसअघि यो सडकमा कतै चारलेन र कतै दुईलेन बनाउने भनिएको थियो । अहिले सडक डीपीआरको काम अन्तिम अवस्थामा पुगेको सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।
‘हामी डीपीआरको अन्तिम तयारीमा रहेका छौं, अबको २र३ दिनमा डीपीआरको रिपोर्ट तयार हुन्छ,’ निर्देशनालयका प्रमुख सुवेदीले भने । डीपीआर रिपोर्ट तयार भएपछि सम्वन्धी निकायमा पठाइने उनले बताए । ‘डीपीआर तयार भएपछि प्रक्रियामा अगाडि बढने छ’ प्रमुख सुवेदीले भने । सबै प्रक्रिया अनुसार अगाडि बढ्दा केही समय लाग्ने समेत उनले बताए ।
‘डीपीआरमा सडकलाइ चारलेन बनाउने गरेर प्रस्ताव गरिएको छ’ प्रमुख सुवेदीले भने । चारलेन सडक बनाउने भएपछि आवश्यक पर्ने बजेट कति लाग्ने भन्ने बारे डीपीआरको फाइनल भएपछि मात्र भन्न सकिने उनले बताए । यो सडक जिल्लाको गौरवको आयोजनाको रूपमा रहेको छ । चारलेन सडक ठेक्का तोडिएसँगै निर्माणको अन्योल बढको थियो । झन्डै पाँच वर्षअघि दाङको घोराही–तुलसीपुर साँघुरो सडक खण्डलाई चारलेनमा विस्तार गर्ने सरकारले महत्वकांक्षी योजना बनाएको थियो ।
झन्डै डेढ अर्ब लागतमा निर्माण गर्ने भनिएको यो सडक विस्तारका लागि भारतीय निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । यो अवधिसम्म सडक निर्माणका लागि भन्दै सडक खनियो, तर विस्तार भएन । सडक विस्तारका नाममा भएको खन्ने काममा करोडौँ रुपैयाँ खर्च भयो । अन्ततः खनिएको सडकलाई टालटुल पारेर पुनः सडकलाई पहिले कै अवस्थामा फर्काइएको हो । सडक विस्तारका नाममा ७ करोड रूपैयाँ खर्च भए पनि सडक नबनेपछि खाल्डा पुर्नफेरि २ करोड ६० लाख रूपैयाँ खर्च गरिएको छ ।
भारतीय निर्माण कम्पनीले काम गर्न नसकेपछि निर्माणको ठेक्का तोडिएपछि सडक निर्माणको काम अहिलेसम्म अन्योल मै छ । सरकारले फोरलेन सडकका लागि पुनः ठेक्का दिने गरी कार्यप्रारम्भ भएको जनाएको छ । तर कहिले ठेक्का लाग्ने भन्ने मितिको टुंगो लागेको छैन । ‘यो सडकलाई फोरलेन बनाउने गरी पुनः ठेक्का लाग्छ’, सडक सुधार तथा विकास आयोजना निर्देशनालयका प्रमुख नरेन्द्र सुवेदीले भने, ‘तर कहिलेसम्म ठेक्का लाग्ने भन्ने यकिन मिति निर्धारण भएको छैन।’
कार्यालयले यो सडक पुनः ठेक्कामा लगाउने गरी सर्वेक्षण गरेको थियो । डीपीआरलाई अन्तिम रूप दिएपछि भारतको एक्जिम बैंकलाई डीपीआर बारे जानकारी गराइने उनले बताए । ‘डीपीआरको कामलाई अन्तिम रूप दिएपछि सडक निर्माणका लागि लगानीकर्ता एक्जिम बैंकलाई जानकारी गराउँछौँ’, उनले भने, ‘भारतबाट स्वीकृत भयो भने मात्रै सडक निर्माणको ठेक्का प्रक्रिया अगाडि बढ्छ ।’
उनका अनुसार चारलेन वा दुईलेन विस्तार हुने भन्ने बारे भारतले नै निर्णय गर्ने छ । तर आयोजनाले भने चारलेन सडकका लागि प्रस्ताव गरेको छ । चारलेन सडक निर्माणको ठेक्का रद्द भएपछि सडकका खाल्डा पुरिएको थियो । तर सडकको विस्तार भने हुन सकेन । पुरानै अवस्थाको सडकमा परेका खाल्डा मात्रै पुरिएको हो । यसले सवारी आवागमनमा केही सहज भएको छ । धुलोबाट यात्रु जोगिए पनि साँघुरो सडकका कारण निम्तिएको सवारी दुर्घटनाको जोखिम भने कायमै छ । सवारी साधनको चाँप र साँघुरो सडकका कारण यो सडक खण्डमा दिनहुँ जसो दुर्घटना हुने गरेको छ ।
२०७५ माघ १४ देखि चारलेन सडक निर्माण गर्ने गरी भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले नेपाल सरकारबाट ठेक्का पाएको थियो । सडक विस्तार गर्ने जिम्मा पाएको यस्ले स्थानीय पेटी ठेक्का कम्पनी (नेपालका निर्माण कम्पनी) लाई निर्माणको जिम्मा दिएको थियो । फोरलेन सडक आयोजनाका अनुसार सडक चारलेन गर्ने ठेक्का पाएको भारतीय निर्माण कम्पनीले ६र७ वटा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । ती कुनै पनि कम्पनीले चारलेन सडक निर्माणको काममा गति दिन सकेनन् ।
२०७८ साउन २७ मै निर्माण सक्ने गरी सम्झौता भएको योजनाको सम्झौता अवधिलाई विभिन्न कारण देखाउँदै पटक–पटक लम्ब्याइयो । पहिलो चरणमा कोरोना संक्रमणलाई कारण देखाएर २०७९ वैशाखसम्म म्याद थप भएको यो योजनाको अवधि यसै वर्ष पुरा भएको हो । पाँच वर्षको अवधिमा भएको कामको प्रगति भने ९ प्रतिशत मात्रै रहेको छ । ठेक्का सम्झौता भएको पाँच वर्षको अवधिसम्म पनि कामले गति लिन नसकेपछि सडक आयोजना ठेक्का रद्दको प्रक्रियामा लागेको हो । कारोबार दैनिकबाट