काठमाडौं। वीरगञ्ज महानगरपालिकामा भोजपुरी प्रतिष्ठानको भवन निर्माण गरिने भएको छ। वीरगञ्ज–८ रेल्वे रोड रात्रीस्कुल नजिकै करिब ५ करोड लागतमा भोजपुरी प्रतिष्ठान निर्माण हुने भएको हो।
भवन निर्माणका लागि एमएस मनिस कन्ट्रक्सनले ठेक्का पाएको छ। आयोजना र निर्माण कम्पनीबीच सम्झौता हुन भने बाँकी छ। यसै आर्थिक वर्षभित्र काम शुरु हुने र सम्झौता भएको मितिबाट दुई वर्षसम्ममा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको बताइएको छ।
सभाहल, पुस्तकालय, कम्प्युटर रुम, ग्राउण्ड फ्लोरमा व्यवसायीक पसल र पार्किङ समेत रहने गरि पाँच तलाको सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको विकास पूर्वाधार महाशाखाका प्रमुख इन्जिनियर राकेश साहले जानकारी दिए।
नेपालको संविधानले भाष, कला र साहित्यको संरक्षणका लागि स्थानीय तहले आफ्नै कानुन निर्माण गरेर अघि बढ्न सक्ने अनुमति दिएसँगै वीरगञ्ज महानगरपालिकाले ‘भोजपुरी प्रतिष्ठान वीरगञ्ज ऐन २०७६’ निर्माण गरेको थियो। सोही ऐन अनुसार भोजपुरी प्रतिष्ठान गठन भएको प्रतिष्ठानका सदस्य रितेश त्रिपाठीले बताए।
९० प्रतिशत भोजपुरी भाषी रहेको वीरगञ्जमा विशेष गरेर भोजपुरी साथै अन्य स्थानीय भाषा, कला, संस्कृति, साहित्यको पनि संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिष्ठान गठन भएको सदस्य त्रिपाठीले जानकारी दिए। उनले भोजपुरी संस्कृतिमा धनि भएको तर कतिपय संस्कार लोप हुने अवस्थामा समेत पुगिसकेको भन्दै संस्कृति, भाष, कला, चित्रकला, साहित्य, लेखनकला लगायतको क्षेत्रमा प्रतिष्ठानले काम गर्दै आएको बताए।
भवन निर्माण भएसँगै प्रतिष्ठानको काम सहज हुनाको साथै कामको क्षेत्र समेत विस्तार हुने उनको भनाइ छ।