राजविराज। सप्तरी जिल्लाको पश्चिमी उतर क्षेत्रका नदीहरुमा अप्राकृतिक रुपमा नदी उत्खनन र दोहन भईरहेको छ । कानुनविपरित नदीको किनारमै बालुवा प्रशोधन केन्द्र राखिएपछि स्थानीय प्रशासन र स्थानीय सरकार मौन जस्तै छन् ।
सप्तरीको सुरुङगा नगरपालिकास्थित चहका खोला,बलान खोला र सिसुवारी खोलामा अप्राकृतिक रुपमा दोहन भईरहेको हो ।ढुंगागिटी बालुवा संकलन तथा बिक्री व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ विपरीत सो खोलाबाट नदीजन्य पर्दाथको उत्खनन् भईरहेको हो ।
सो मापदण्डमा घनाबस्ती र वन क्षेत्रको दुईकिलोमिटर,राजमार्गको पाँचसय मिटरभित्रको नदी, सडक पुल तथा झोलुंगे पुलको एक किलोमिटर तल र पाँचसय मिटरमाथीको नदीजन्य पदार्थ उत्खनन र संकलन गर्न नपाउने व्यवस्था छ। त्यसका विपरीत यी तिनवटै खोलामा बालुवा,गिटी,ढुंगा उत्खनन भईरहेको हो ।
सुरुंगा नगरपालिकाले चहका, वलान र सिसुवारी खोलावाट नदीजन्य पदार्थ निकाल्न १ करोड २५ लाख ९९ हजार ९ सय ९९ रुपैयामा संघर्ष निर्माण सेवा उदयपुरलाई एक वर्षको ठेक्का दिएको छ ।
नगरपालिकाले प्रारम्भिक वातावरणीय परीक्षण गरि ठेक्का लगाएको दाबी गरेपनि परिक्षणको प्रतिवेदन पालिका कार्यालयमा भने उपलब्ध छैन । डिभिजन वन कार्यालयले पनि केही समय अघि सो पालिकासँग प्रारम्भिक वातावरणय परीक्षणको रिर्पोट मागेको थियो । तर पालिकाले आधिकारिक परीक्षण रिर्पोट नदिएको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख हेमन्तकुमार साहले बताए ।
ठेक्का लगाएर ठेकेदार र पालिकाको मिलेमतोमा निकाल्नुपर्ने परिमाण भन्दा धेरै बढी परिमाणमा तथा कानुनले तोकेभन्दा विपरित किसिमले नदीजन्य पदार्थ निकाल्ने कार्य भईरहेको छ । इकान्तिपुरबाट