काठमाडौँ। बजेट अभावका कारण कीर्तिपुर नगरपालिका–१, २ र १० को करिब ५५ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको ‘युद्ध स्मारक पार्क’ को काम अलपत्र परेको छ। हरियाली उद्यानका लागि केही संरचना निर्माण भइरहेको भएता पनि मुख्य काम अलपत्र परेको हो।
पार्क उपभोक्ता समितिका अध्यक्ष लक्ष्मीकुमार महर्जनका अनुसार पार्कको काम रोकिएको छ। वन कार्यालयसँग अनुमति लिएर पार्कस्थलमा भएका ठूला–ठूला रूख काटेर नयाँ बिरुवा रोपेपछि मात्र पार्कमा मूर्ति स्थापना गरिने छ।
मूर्तिको कार्यशालासहित पार्क निर्माणमा १ करोड ६७ लाख २० हजार ३ सय रुपैयाँ खर्च भएको छ। मूर्ति स्थापना गर्न बाँकी नै छ। पार्कको डीपीआर अनुसार धेरै खर्च लाग्ने भएकाले बजेट हेरेर मात्र चरणबद्ध काम गरेको नगरपालिकाकी उपप्रमुख तथा प्रवक्ता सरस्वती खड्काले जानकारी दिइन्। काठमाडौं महानगरले आर्थिक वर्ष ०७५।०७६ र ०७७।०७८ गरी दुई करोड रुपैयाँ उपलब्ध गराएको हो।
मूर्तिकार दीपक लामा भन्छन्, मूर्तिहरू पार्कमा प्रतिस्थापन भयो कि भनेर म तीन पटक जति पार्कस्थलतिर पुगिसकेँ। त्यता भएका मूर्तिहरूको अवस्था देख्दा साह्रै दुःख लागेको छ। नगरपालिकाले कलालाई संरक्षणचाहिँ गरेको भए हुने थियो। केही काम भएको पार्कमा पनि सिर्जना भएका कलाकृतिहरूभन्दा भौतिक संरचनालाई बढी जोड दिइएको उनको गुनासो छ।
नगरपालिकाले पहिले फोहोर फाल्ने भिरालो ठाउँमा नै पार्कको विस्तार गर्ने योजनाअनुसार काम अगाडि बढाएको थियो। योजनाअनुरूप पार्कमा अहिले पर्खाल लगाई हरियाली बनाउन दुबो लगाइएको छ।
नगरपालिकाले पार्कका लागि बनाएका केही मूर्तिहरू मात्र स्थापना गरिएका छन्। बाँकी अहिले घाँसैघाँसले ढाकिएका छन्। झुल्किने सत्तल तथा पर्खाल र मूर्तिको सौन्दर्यले कीर्तिपुरको मुहार फेरिने कुराले नगरवासीहरु उत्साहित भएका थिए। अहिले पार्कका लागि सिर्जना गरिएका मूर्ति संरक्षणविहीन हुँदा स्थानीयहरू निरास बन्न पुगेका छन्।