लमजुङ। रुख कटानका लागि स्वीकृति नदिँदा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको काम प्रभावित भएको छ । लमजुङको मध्यनेपाल नगरपालिका अन्तर्गत करापुटार देखि रुदिखोला सम्म एक दशमलव पाँच किलोमिटर सडक निर्माण कार्य प्रभावित भएको हो ।
सडक निर्माणको क्रममा बन क्षेत्रमा परेका केहि रुख कटान गर्नुपर्ने भएको तर रुख कटानका लागि वन तथा वातावरण मन्त्रालयले स्वीकृति नदिँदा सडक निर्माण कार्य प्रभावित भएको हो । वन क्षेत्रमा सडक निर्माण गर्नेक्रममा रुख तथा बुट्यान कटनी गर्न सम्वन्धीत मन्त्रालयको स्वीकृति लिनुपर्ने प्रावधान रहेको छ । स्वीकृतिका लागि आवश्यक कागजी प्रक्रिया अघि बढिसकेको भए पनि मन्त्रालयबाट कुनै जवाफ नआउँदा सडक निर्माण कार्य प्रभावित भएको मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ ।
मन्त्रालयबाट स्वीकृति आउनेबित्तिकै सो क्षेत्रमा सडक निर्माणको कार्यले गतिलिने आयोजनाले बताएको छ । जिल्लामा वन क्षेत्र बाहेक स्थानियको अवरोधका कारण सुन्दरबजारमा दुई किलोमिटर र भोर्लेटारमा एक दशमलव ७५ किलोमिटर सडक निर्माण कार्य पनि प्रभावित भएको छ । सुन्दरवजारको क्याम्पस गेटदेखि मुख्य बजार हुँदै खत्रेठाँटी सम्म सडक निर्माण कार्य हुन सकेको छैन भने मध्यनेपालको रानीपानी चोकदेखि भोर्लेटार बजार हुँदै मिदिम खोला पुलसम्म निर्माण कार्य अवरोध हुँदै आएको छ ।
जिल्लामा पर्ने ४५ किलोमिटर लोकमार्ग सडकमध्ये राईनास खण्ड, सुन्दरबजारको सत्र सयदेखि नेटासम्म काम सम्पन्न भइसकेको छ । यसबाहेक सुन्दरबजारको पाउदीदेखि क्याम्पस गेटसम्म, खत्रेठाँटीदेखि सत्र सयसम्म, मध्यनेपालको नेटा देखि रानीपानीसम्म र मध्यनेपालकै कल्याण बेसी सडक निर्माण कार्यले गति लिएको छ । सुन्दरवजारको पाउदीदेखि मध्यनेपाल र कास्की सिमामा रहेको मादी पुलसम्म लमजुङमा चार खण्डमा काम भइरहेको छ ।
मध्यपहाडी राजमार्ग देशकै गौरवको आयोजना भएको र यो आयोजना निर्माण सम्पन्न भएपछि समग्र जिल्लाकै समृद्धिको आधार तय हुने भन्दै जतिसक्दो छिटो आयोजना सम्पन्न गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । आर्थिक वर्ष ०६४–६५ बाट सुरु गरिएको बहुचर्चित मध्यपहाडी लोकमार्ग २४ जिल्ला जोडिएर एक हजार सात सय ६५ किलोमिटर लामो हुने बताइएको छ । सडक खण्ड अन्तर्गत अधिकांश जिल्लामा काम सम्पन्न चरणमा भएको तर लमजुङमा भने निर्माण कार्य सुस्त भएको भन्दै प्रशासनले पनि चासो दिँदै आएको छ ।
प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आयोजनाको निर्माण कार्यलाई गति दिन आवश्यक सहजिकरणका गर्दै आएको बताए । करिब एक हजार किलोमिटर पुरानो चल्तीको सडक र थप ७५६ किमी नयाँ ट्रयाक खोलेर शुरु भएको मध्यपहाडी लोकमार्गको पूर्व र पश्चिम दुई खण्डमा बाँडेर काम भइरहेको आयोजनाले जनाएको छ । लोकमार्ग अन्तर्गत जिल्लामा कतिपय भागमा कालोपत्रे भइसकेको छ भने कतिपय भागमा सडक चौडा पार्ने क्रम चलिरहेको छ । सम्पन्न चरणका कामलाई पनि निरन्तरता दिन थालिएको आयोजनाले जनाएको छ । कारोबार दैनिकबाट