काठमाडौं। नेपाल टेलिकमले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
टेलिकमले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार पुस मसान्तसम्मको कुल आय २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ रहेको छ ।
उक्त रकम गत आवको सोही अवधिको तुलनामा ७९ करोड १७ लाख ५७ हजार रुपैयाँले कमी हो । गत वर्ष २२ अर्ब १० करोड ११ लाख ३७ हजारको आय भएको कम्पनीले जनाएको छ ।
राजश्व तथा खुद मुनाफा परिवर्तन हुनुमा टेलिकमले केही कारणहरू औंल्याएको छ ।
जसअनुसार ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआवद्धता आयमा गत आवको दोस्रो त्रैमासिक अवधिको तुलनामा करिब ५२ करोड ९२ लाख ७५ हजारले कमी भएको हो।
यस्तै, मौसमको प्रतिकूल असरले गर्दा विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकाले साइटहरू समयमा सञ्चालन हुन नसकेको टेलिकमले जनाएको छ ।
दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिपर्दा लागत बढेको टेलिकमले जनाएको छ ।
यस्तै टेलिकमले सेवाको दर रेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दर रेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको जनाएको छ ।
यस्तै, बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब ३४ करोड ७ लाखले कमी भएको टेलिकमको भनाइ छ ।