काठमाडौं। सर्वोत्तम सिमेन्ट लिमिटेडले उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयमा विक्री गरेको आईपीओ बाँडफाँट गरेको छ । विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा बुधवार एक कार्यक्रमको आयोजना गरी आईपीओ बाँडफाँट गरेको हो ।
नेपालमा पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गरेको यस कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तामा आईपीओ जारी गरी दोस्रो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्इयाएको २ लाख ६७ हजार कित्ता शेयर भने पुस २५ गतेदेखि माघ १० गतेसम्म विक्री गरी माघ १७ गते बाँडफाँट भइसकेको छ ।
आयोजना प्रभावित स्थानीयमा भने पुस २५ गतेदेखि माघ २५ गतेसम्म ९ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरिएको थियो । तोकिएको अवधिभित्र १ हजार २२४ जना आवेदकहरूबाट २ लाख ४८ हजार ५०३ कित्ता शेयर खरीदको लागि मात्र आवेदन प्राप्त भएको जानकारी विक्री प्रबन्धकले गराएको हो ।
बुक बिल्डिङ निर्देशिका, २०७७ को व्यवस्थाबमोजिम धितोपत्र बाँडफाँट गर्दा प्रतिआवेदक न्यूनतम ५० कित्ताको दरले बाँडफाँट गर्नुपर्ने हुँदा धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ बमोजिम मागभन्दा कम शेयरका लागि मात्र आवेदन प्राप्त भएको हुनाले रीतपूर्वक प्राप्त भएका २ लाख ४८ हजार ४७० कित्ता शेयर १ हजार २२४ जना आवेदकलाई न्यूनतम ५० कित्तामा नघट्ने गरी बाँडफाँट गरिएको जानकारी कम्पनीले दिएको छ ।
उद्योग प्रभावित तथा खानी उत्खनन् क्षेत्रका स्थानीयका लागि छुट्इयाएको शेयरमध्ये विक्री हुन नसकेको ६ लाख ८१ हजार ५३० कित्ता शेयर भने तेस्रो चरणमा सर्वसाधारणमा थप गरी विक्री गरिनेछ ।
पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताका लागि प्रतिकित्ता ४०१ रुपैयाँमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणको आईपीओको भने प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसामा विक्री गरेको हो । संस्थागत लगानीकर्तामा विक्री भएको मूल्यभन्दा १० प्रतिशत कम मूल्यमा सर्वसाधारणमा आईपीओ विक्री गरिएको हो।