भैरहवा। भैरहवा–परासी औद्योगिक करिडोरका धकधईमा ‘अटोमेटिक नम्बरप्लेट रिकग्नाइजेसन ‘एएनपीआर क्यामेरा’ जडान भएको छ । रोहिणी गाउँपालिकाले सो क्यामरा जडान गरी सञ्चालनमा ल्याएको हो ।
सो स्थान रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा रहेको प्रमुख बजार क्षेत्र हो । सो क्षेत्र हुँदै अहिले पूर्व पश्चिमतर्फ अत्यधिक सवारी साधन गुड्ने गरेका छन् । सो क्षेत्र हुँदै गुड्ने सवारीसाधनको नम्बर प्लेट पहिचान गर्न र शान्ति सुरक्षा कायम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले एएनपीआर क्यामेरा जडान गरिएको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय, धकधईसँगको सहकार्यमा क्यामेरा जडान भएपछि अब तीव्र गतिमा सवारी चलाउने साथै सवारी दुर्घटना भए दुर्घटनाबारे अनुसन्धान गर्न थप मद्दत मिल्ने अध्यक्ष यादवले बताए । ‘रोहिणी गाउँपालिका औद्योगिक क्षेत्र पनि हो । सम्भावित सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न र शान्ति सुरक्षाको दृष्टिकोणले पनि यो क्यामेरा महत्वपूर्ण छ’ उनले भने । इलाका प्रहरी कार्यालय धकधईबाट निगरानी हुने गरी क्यामेरा जडान गरिएको छ ।
ईलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेले कतिपय अवस्थामा जनचेतनाको कमीका कारण चालक ‘हिट एण्ड रन’ गरेर भाग्ने भएकाले सवारी साधनको ‘मुभमेन्ट’ पत्ता लगाउन सजिलो हुने भएकाले यो क्यामेरा उपयोगी हुने विश्वास रहेको जनाएका छन् । उनले भने, ‘क्यामेरा जडान भएपछि ‘हिट एण्ड रन’ गरेर नवलपरासी र भैरहवाबाट भागेर आएका सवारीसाधनको पहिचान गर्न र कानूनी दायरामा ल्याउन सकिने हाम्रो विश्वास छ।’
मुइन इन्टरनेशनल प्रा.लि.का टेक्निकल डाइरेक्टर रविनराज अमात्यले नम्बर प्लेट पहिचान र सडक सुरक्षा ‘एएनपीआर क्यामेरा’ को मुख्य उद्देश्य रहेको बताए । उनले भने, ‘यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट पहिचान गर्नुका साथै आवातजावत हुने सवारीसाधनको फोटो र भिडियो बनाएर सेभ गर्छ । साथै सवारीका नम्बर प्लेट पहिचान हुने भएकाले चोरीलगायत विभिन्न घटनाको अनुसन्धान गर्न यसले सहयोग गर्छ ।’
धकधईमा जडान गरिएको क्यामेराले रोहिणी मात्र नभइ भैरहवा–परासी सडकखण्ड हुँदै गुड्ने सवारीसाधनको गतिविधि सुरक्षित राख्नेछ । एएनपीआर क्यामरा जडान गरी सञ्चालनमा ल्याउनेमा रोहीणी गाउँपालिका जिल्लामै पहिलो भएको छ, जिल्लामा ठूला स्थानीय तह र शहरी क्षेत्रमा समेत यो प्रणाली जडान गरिएको छैन । कारोबार दैनिकबाट