बुटवल। सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकअन्तर्गतको सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग निर्माणको काम भइरहेको छ । सुरुङमार्गअन्तर्गत अहिले उत्तर र दक्षिणतर्फको पोर्टल तथा तीनवटा बाइपासको काम भइरहेको हो ।
सुरुङमार्गअन्तर्गत समग्रमा हाल १०.४ प्रतिशत प्रगति भएको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् । ‘भौतिक प्रगति १०.४ प्रतिशत छ । सुरुङमार्गको दक्षिण पोर्टलमा १६.६ मिटर सुरुङ खनिएको छ ।’ उनले भनिन्, ‘आकारअनुसार ७५ प्रतिशतमात्र सुरुङ खनिएको हो । सडक एरियाको जमिनमुनि खन्न बाँकी छ ।’
उत्तरतर्फको पोर्टलमा भने स्लोप प्रोटेक्सन अर्थात् पहिरो रोकथामको काम भइरहेको छ । गत वर्षायाममा सो पोर्टल पहिरोले पुरेको थियो । अहिले त्यहाँ पहिरो रोकथामको काम भइरहेको इन्जिनियर ज्ञवालीले बताइन् । पोर्टल अर्थात् प्रवेशविन्दु बाहेक बाइपास सुरुङको पनि काम भइरहेको छ । यात्रा गर्ने क्रममा आगलागी या अन्य कारणले यातायात अवरुद्ध भएमा वैकल्पिक मार्गका लागि बाइपास सुरुङ निर्माण भएको इन्जिनियर ज्ञवालीले जानकारी दिइन् ।
‘तीनवटा बाइपास सुरुङ छ । पहिलो बाइपास साढे चार मिटर, दोस्रो बाइपासमा सात मिटर र तेस्रो बाइपासमा सुरुङका लागि तीन मिटर खनिएको छ,’ उनले भनिन् । सुरुङमार्गका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले काम गरिहेको छ । कम्पनीसँग सन २०२२ मार्च ९ मा ठेक्का सम्झौता भएर काम सुरु भएको हो । जसअनुसार एक हजार ११६ मिटरको सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । त्यसका साथै बाहिरको सडक चौडा र रकसेड पनि निर्माण गर्नुपर्ने हुन्छ ।
‘अहिले भइरहेको दुई हजार ३९८ मिटरको सडक चौडा गर्न स्लोप कटिङ र ७८० मिटर मा रकसेड निर्माण हुन्छ,’ इन्जिनियर ज्ञवालीले भनिन् । सुरुङमार्गको उत्तर र दक्षिण पोर्टलमा प्राविधिक भवनसमेत बन्नेछन् । सात अर्ब ३४ करोड २१ लाख लागतमा पाँच वर्षमा निर्माण सम्पन्न गर्नेगरी चाइना स्टेटसँग सुरुङमार्ग निर्माणको सम्झौता भएको हो । जसअनुसार सन् २०२७ मार्च २२ मा निर्माण सक्नुपर्ने हुन्छ । सुरुङमार्ग ईपीसी मोडको ठेक्का सम्झौता हो । जसअनुसार चाइना स्टेटले डिजाइन, निर्माण र मर्मत सबै गर्नेछ ।
जसअनुसार सम्झौतापछिको नौ महिना डिजाइन पिरियड थियो । नौ महिनामा डिजाइन सकेपछि सडक विभागमा डिजाइन पेस भएको थियो । पेस भएको डिजाइन चेकजाँचका लागि स्विजरल्याण्ड सरकारले प्राविधिक सहयोग गरेको आयोजनाकी इन्जिनियर सविता ज्ञवालीले बताइन् । ‘सुरुङमार्गका लागि हामी नयाँ छौं । त्यसैले डिजाइन चेकजाँचका लागि हामीलाई स्विजरल्याण्ड सरकारले प्राविधिक सहयोग गरेको छ,’ उनले भनिन् । सुरुङमार्गका लागि डिजाइन चेकजाँच र निर्माणको काम सँगसँगै अघि बढेको छ ।
सबै चेकजाँच सकेर एकैपटक काम सुरु गर्दा लामो समय लाग्ने भएकाले सँगसँगै काम अघि बढेको ज्ञवालीले बताइन् । ‘सुरुको पोर्टल र बाइपासको डिजाइन स्वीकृत भएकाले त्यसको कामअघि बढेको हो,’ उनले भनिन्, ‘पहाडभित्र छिर्दै जाँदा जियोलोजिकल कन्डीसन चेन्ज भएर डिजाइन पनि चेन्ज गर्नुपर्ने हुनसक्छ । त्यसैले डिजाइनलाई पार्टपार्टमा स्वीकृत गरेर काम अगाडि बढाएका हौं ।’ स्विजरल्याण्ड सरकारले प्राविधिक रुपमा पार्टपार्टमा डिजाइन चेकजाँच गरेर सिफारिस गर्छ ।
सम्झौता अनुरुपको भए नभएको अध्ययन गरेर सडक विभागका महानिर्देशकले स्वीकृत गरेपछि निर्माणको काम अघि बढ्ने आयोजनाले जनाएको छ । सिद्धबाबा क्षेत्रमा वर्षायामको बेला पहिरो गइरहँदा यात्रुहरू हैरान भएका छन् । पहिरोसँगै माथिबाट खस्ने ठूलाठूला ढुंगाले लागेर थुप्रै यात्रुको ज्यान गएको छ । सवारी साधनको क्षति हुनुका साथै पटकपटक यातायात अवरुद्धसमेत हुने गरको छ । पहिरोबाट हुने क्षति रोक्न सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण थालिएको हो । कारोबार दैनकिबाट