काठमाडौं। नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेज वर्षौदेखि जीर्ण अवस्थामा रहेको छ। यही कलेजको स्थापना पछि नै नेपालमा विधिवत् रूपमा उच्च शिक्षा आरम्भ भएको इतिहासमा उल्लेख छ। तर हाल संरक्षणको अभावले जीर्ण अवस्थामा पुगेको छ। शिक्षा ग्रहण गर्नुपर्ने विद्यालय भवनमा अहिले झार उम्रिएको छ। २०७२ को विनासकारी भूकम्पले कतै भवन चर्किएको छ भने कतै भत्किसकेको छ। कलेजसँगै टाँसिएको ऐतिहासिक घण्टाघरको पनि जीर्ण अवस्थामा छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २०७२ मा बनेको राष्ट्रिय पुनर्निर्माण तथा पुनःस्थापना नीतिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्षतिग्रस्त केन्द्रीय प्रशासनिक भवन र केन्द्रीय पुस्तकालय भवनको विस्तृत प्राविधिक परीक्षण गरि पुनर्निर्माण तथा मर्मत सम्भार गरिने उल्लेख गरिएको थियो। तर प्राधिकरणको म्याद सकिँदा पनि हालसम्म कलेज पुनर्निर्माण हुन सकेको छैन्। गत भदौमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै मुलुकको सबैभन्दा पुरानो कलेज त्रिचन्द्र कलेज र घण्टाघरलाई ऐतिहासिक महत्त्व झल्किने गरी पुरानै ढाँचामा पुनर्निर्माण गर्न प्रबन्ध गरिने बताएका थिए। तर घोसणा भएको ३ महिना वितिसक्दा पनि हालसम्म भवन निर्माणको लागि कुनै पहल भएको छैन्।
अनेरास्ववियू त्रिचन्द्र क्याम्पस कमिटीका अध्यक्षले त्रासमा विद्यार्थी पढ्न बाध्य रहेको जानकारी गराएका छन्। दिनदिनै कलेज जीर्ण बन्दै जाँदा बस्ने ठाउँको अभाव हुँदै गएको उनको भनाइ छ। पटक–पटक कलेज र सरकारलाई समस्याबारे ध्यानाकर्षण गराएको भएपनि कतैबाट सुनुवाई नभएको उनको गुनासो रहेको छ। अहिले उक्त कलेजमा करिब १० हजार विद्यार्थी अध्ययनरत रहेका छन्। कलेज परिसरको खाली ठाउँमा टहरा बनाएर पढाउने भनिएको भएपनि हालसम्म टहरा पनि निर्माण नहुनाले विद्यार्थीको पढाइमा बाधा पुग्दै आएको छ। तर यस विषयमा हालसम्म कसैको पनि ध्यान जान सकेको छैन्। उच्च शिक्षाको क्षेत्रमा मुलुककै जेठो विद्यालयको रुपमा रहेको यस विद्यालयको संरचना जोगाउनतिर कसैको पनि ध्यान नजानु दुःख लाग्दो कुरा पनि हो। यसैगरी जीर्ण भवनमा वर्षातको समयमा पानी चुहिएकाले पठनपाठन नै प्रभावित हुदै आएको छ। तर अहिलेसम्म पठनपाठनको लागि कुनै व्यवस्था हुन सकेको छैन्।
पहिला नै प्राधिकरणले पुनर्निर्माण गर्ने भनेको भएपनि हालसम्म पुननिर्माणको पहलसमेत नहुनु लज्जास्पद विषय पनि हो। शैक्षिक क्षेत्रमा भएका यस्ता लापरबाहीका कारणले विधार्थीको भविष्यमाथी नै खेलबाड भएको छ। जीर्ण भवनबाट नै भूगर्भशास्त्र, तथ्यांक शास्त्र, मनोविज्ञान, जल विज्ञान र भूगोलको अध्ययन हुने गरेको त्यही अध्ययनरत एक विधार्थीले जानकारी दिएका छन्। सरकारी स्वामित्त्वमा रहेको उच्च शिक्षा क्षेत्रको जेठो संरचनामा भएको लापरबाहीले मुलुकको शैक्षिक विकासमा खतरा नआउला भन्न सकिदैन। अहिलेसम्म उक्त विद्यालयमा न भवनको पुननिर्माण हुन सकेको छ न शौचालयको राम्रो व्यवस्था छ न त खानेपानीको नै व्यवस्था छ।
राणा प्रधानमन्त्री चन्द्र शमशेरका पालामा विसं १९७५ मा नेपालको पहिलो उच्च शिक्षा दिने संस्था त्रिचन्द्र कलेजको स्थापना भएपछि नै नेपालमा विधिवत् उच्च शिक्षाको इतिहास आरम्भ भएको थियो। विसं १९७६ भदौ ५ बाट विधिवत् रूपमा त्रिचन्द्रमा आईए र आईएस्सीको अनि वि.सं. १९८१ देखि बीए र २००४ सालदेखि बीएस्सीको पठनपाठन शुरु भएको हो। तर २०१६ सालमा नेपालको आफ्नै विश्वविद्यालय नखुल्दासम्म त्रिचन्द्रको सम्बन्धन पटना विश्वविद्यालयसँग रहेकाले नेपाली विद्यार्थीको परीक्षा लगायत यथावत् शैक्षिक औपचारिकता सोही विश्वविद्यालयबाट हुने गरेको इतिहासमा उल्लेख छ।
त्रिचन्द्र कलेजका प्रमुख डा. सुनिल अधिकारीले कलेज पुनर्निर्माणका लागि पहल गरिरहेको जानकारी दिएका छन्। पहिला प्राधिकरणले निर्माण गर्ने भनिएको सो भवन हाल प्राधिकरणको म्याद सकिएको हुनाले सरकारले नै बनाउने भएको उनले जनाएका छन्। घण्टाघरसहित कलेजको छिट्टै पुनर्निर्माण गर्न सरकारलाई ताकेता गरिरहेको उनको भनाइ रहेको छ। प्राधिकरणको म्याद सकिएको हुनाले प्राधिकरणले सम्बन्धित सरकारी कार्यालयमै निर्माणका लागि जिम्मेवारी हस्तान्तरण गरेको छ। जसअनुसार यसको पुनर्निर्माणका लागि अब शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले हेर्नेछ।
आयोजना कार्यन्वयन एकाइका प्रमुखले कलेजको पुनर्निर्माणको प्रक्रिया अघि बढिसकेको जानकारी दिएका छन्। कलेज पुनर्निर्माणका लागि कन्सलटेन्ड हायर गर्न सूचना प्रकाशित गरीसकेको र आफुहरु गुरु योजनामा रहेको उनले जानकारी दिएका छन्। उक्त कलेज पुनर्निर्माण एक्जिम बैंक (भारत)को सहयोगले बन्ने योजना रहेको उनले जनाएका छन्। यसैगरी अबको पाँच महिनाभित्र कलेजको डिपिआर तयार पार्ने प्रक्रिया अघि बढी सकेको जवनाइएको छ। यसपश्चात निर्माण गर्न कम्पनीको लागि बोलपत्र आह्वान गरी निकट भविष्यमै पुनर्निर्माण थाल्ने उनको भनाइ रहेको छ।