बागलुङ। बागलुङ कालिका भगवती मन्दिरमा चालु आर्थिक वर्षको सात महिनामा एक करोड ७१ लाख रुपैयाँ भेटी सकलन भएको छ । मन्दिरले यो अवधिमा १ करोड २८ लाख रुपैयाँ खर्च गरेको छ भने ४२ लाख रुपैयाँ बचत गरेको छ ।
यो समयमा केही निर्माणको काम समेत गर्दा खर्च बढी देखिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
माघ महिनामामात्रै १९ लाख ७२ हजार भेटी सकलन भएको थियो । मन्दिरमा चढाइने भेटीको दैनिक आम्दानी सार्वजनिक गरिन्छ । त्यसबाहेक गुठीले मासिक रुपमा आम्दानी र खर्चपनि सार्वजनिक गर्न थालेको छ ।
बिहीबार पत्रकार सम्मेलन गरेर गुठीले माघसम्मको आम्दानी र खर्च सार्वजनिक गरेको हो । खर्चतर्फ हरेक महिना तलबमा ३ लाख ५७ हजार खर्च हुने गरेको हो । बडा दशैं र चैते दशैँमा भने करारका थप कर्मचारी राख्नु पर्दा खर्चपनि बढ्छ । दुवै दर्शैमा भक्तजन बढी आउने भएकोले भेटी पनि अन्य महिनामा भन्दा बढी संकलन हुन्छ ।
मन्दिर आसपासमा रहेका सटरबाट मन्दिरले मासिक ३ लाख १४ हजार भाडा असुल समेत गर्दै आएको छ । त्यसबाहेक मन्दिरमा चढाइने अक्षेता, बोका तथा कुखुराको टाउकोबाट पनि कमाइ हुने गरेको छ । परेवा उडाउनेले तिर्ने शुल्क, बिबाह र ब्रतबन्ध शुल्क, मन्दिरमा आउने पंडितले बुझाउने दस्तुर समेतबाट आम्दानी बाध्ने गरिएको खड्काले जानकारी दिए ।
गुठीले दिर्घकालिन योजना बनाएर मन्दिरको पूजा व्यवस्थापनमा सुधार गरेको छ । त्यस्तै मन्दिर प्रवेशद्वार निर्माण, सडकमा ढुंगा छाप्ने, मन्दिर परिसरमा सत्तल निर्माण, मन्दिरमा तामाले छाउने र अन्य सुधारका काम समेत गरेको हो । कालिका मन्दिरमा पछिल्लो समय सयौं भक्तजन र धार्मिक पर्यटक आउने क्रम समेत बढेको छ । कान्तिपुरबाट