काठमाडौँ । ६३५ मेगावाटको दूधकोसी जलाशय जलविद्युत् आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गर्ने गरी डिजाइन अगाडि बढाइएको छ । अपेक्षितभन्दा लामो सुरुङ निर्माण गर्नुपर्ने जटिलता रहेको हुँदा उक्त प्रविधि प्रयोग गर्ने डिजाइन बनाउन लागिएको हो ।
झण्डै १८ किलोमिटरसम्म लामो सुरुङ निर्माण गर्नुपर्ने देखिएको हुँदा टिबिएम प्रयोग गर्ने गरी डिजाइन सुरु गरेको दूधकोसी जलविद्युत कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङले बताए । उनका अनुसार आयोजनाको मुख्य सुरुङ (हेडरेस टनेल) को लम्बाइ १३ किलोमिटर र दुईवटा एडिट सुरुङहरूको लम्बाइ करिब ५ किलोमिटर खन्नुपर्ने छ ।
‘लामो सुरुङ खन्नुपर्ने र अन्य समस्यालाई समेत सरलीकृत गर्नका लागि हामीले अहिले टिबिएम मेथडबाट सुरुङ खन्ने गरी डिजाइन गर्दैछौं,’ उनले भने, ‘टिबिएमबाट खन्दा एडिट सुरुङहरू बनाउनु नपर्ने र १८ किलोमिटरको सट्टा १३ किलोमिटरमात्र खने पुग्छ ।’
यसैगरी, टिबिएम प्रयोग गर्दा एडिट सुरुङसम्म पुग्न बनाउनुपर्ने करिब ७ किलोमिटर प्रवेशमार्ग समेत निर्माण गर्नु नपर्ने उनको भनाइ छ । खर्चका हिसाबले उस्तै हुन आउने हुँदा टिबिएम विधिको प्रयोग बढी व्यवहारिक हुने पनि उनले बताए ।
अहिलेसम्म भेरी–बबई र सुनकोसी–मरिन डाइभर्सन (पथान्तरण) आयोजनामा उक्त मेसिन प्रयोग गरिएको छ । दूधकोसीका लागि टिबिएम प्रविधि प्रयोगको निर्णय भएमा जलविद्युत् आयोजनाका लागि पहिलो हुनेछ । यस सम्बन्धमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको समेत चासो रहेको गुरुङले बताए ।
यसअघिका दुई परियोजनामा प्रयोग गरिएको हुँदा उक्त विधि सम्पूर्ण रूपमा जोखिममुक्त (जोखमविहीन वा जोखिमरहित वा जोखिम नभएको) भन्ने होइन तर मानवीय जोखिम शून्य प्रायः हुने अध्ययनले देखाएको छ । यसका राम्रा र नराम्रा पक्षबारे अहिले विस्तृत अध्ययन तथा छलफल भइरहेको गुरुङले जानकारी दिए ।
टिबिएम ढुवानी गर्न सगरमाथा राजमार्गको गाईघाटदेखि उकालो नकटेसम्म करिब ३० किलोमिटर सडक खण्डमा समस्या नरहेको तर रानीबास कटेपछि भने ओरालो फोक्सिङटारसम्म जटिलता रहेको अध्ययनले देखाएको छ ।
निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत २ अर्ब २० करोड अमेरिकी डलर (करिब २ खर्ब २५ अर्ब रुपैयाँ) रहेको छ । यसमध्ये ऋणबाट १ अर्ब ६८ करोड डलर ऋण र बाँकी इक्विटीबाट जुटाएर वित्तीय व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।
एसियाली विकास बैंक (एडिबी) को नेतृत्वमा विभिन्न अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूबाट आयोजनामा एक अर्ब डलर सहुलितपूर्ण ऋण लगानी हुनेछ ।यसमध्ये एडिबीले आयोजनामा ५५ करोड डलरको सहुलियतपूर्ण ऋण लगानीको प्रतिबद्धता जनाएको छ । एडिबीको नेतृत्वमा सन् २०२४ भित्र वित्तीय व्यवस्थापन गर्ने गरी तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।