म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ। बजेट विनियोजन हुन थालेको ५ वर्षपछि बल्ल यो पुल निर्माणको काम सुरु भएको हो ।
डिजाइन (नक्साङ्कन)मा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ्ग र पाउद्धार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आर्थिक वर्ष २०७५।७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।
अन्नपूर्ण–५ का वडा सदस्य पूर्णबहादुर पाइजाले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट विनियोजन हुन थालेको ५ वर्षपछि पुल निर्माण सुरु भएको जानकारी दिए । “२०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी करिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उनले भने, “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा पुल निर्माण अलपत्र बनेको थियो ।”
पुल निर्माण भएपछि पर्यटकीयस्थल भुरुङ्ग तातोपानीबाट प्राकृतिक उपचारस्थलका रुपमा विकसित पाउद्धार तातोपानी कुण्ड पुग्नका लागि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु ९अस्थायी काठको पुल० तर्नुपर्ने बाध्यताको अन्त्य हुने पाइजाले बताए । नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने उनको भनाइ थियो ।
कालीगण्डकी किनारमा प्राकृतिकरुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको छ । पाउद्धार तातोपानी कुण्ड सञ्चालनका लागि अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षमा रु २० लाख ११ हजारमा ठेक्का लगाएको थियो ।
भुरुङ्ग र पाउद्धार तातोपानी जोड्ने १२६ मिटर लामो झोलुङ्गे पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दीसँग सञ्जिव उज्वल जेभीले गत साउनमा ९३ लाख ५० हजार चार सय ८६ मा ठेक्का सम्झौता गरेको थियो ।