काठमाडौं। रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण सुरु भएकोे छ। खहरे खोला रहेका सो क्षेत्रका भित्री सडकमा पनि बाह्रै महिना सवारी साधन सञ्चालन गर्ने उद्देश्यका साथ विभिन्न १४ वटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो।
यसैगरी सङ्घ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ। लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष उक्त जिल्लाका विभिन्न ८ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो।
अघिल्लो वर्ष स्वीकृत भएको योजनाहरुमध्ये दुई वटा निर्माण सम्पन्न भई उद्धघाटन भइसकेका छन् भने बाँकी ६ वटा निर्माणको चरणमा रहेका छन्। चालू आर्थिक वर्षमा सङ्घीय सरकारबाट १ र लुम्बिनी प्रदेश सरकारबाट ५ गरी थप ६ वटा पक्की पुल स्वीकृत भएका छन्। चालु आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा गरी जिल्लामा स्विकृत भएको १४ वटा पुलमध्ये दुई वटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ वटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ।
अहिले जिल्लाका दशवटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ। आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने अपेक्षा राखिएको छ। यसैगरी अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन्।
यस वर्ष स्वीकृत भएका पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुखले जानकारी दिएका छन्। सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिएको भएपनि अरु योजनामा भने कुनै समस्या नरहेको जनाइएको छ।