चितवन। चितवनमा दर्ता भई सञ्चालनमा रहँदै आएका १४० वटा उद्योग बन्द भएका छन्। घरेलु तथा साना उद्योग कार्यालय चितवनका अनुसार चालु आवमा ती उद्योग बन्द गर्नका लागि कार्यालयमा निवेदन परेको हो ।
३१ वटा उत्पादनमूलक, ५५ वटा कृषि तथा वनजन्य, २० वटा पर्यटनमूलक र ३४ वटा सेवामूलक उद्योग बन्द भएको कार्यालयका सूचना अधिकारी नारायणप्रसाद खनालले जानकारी दिए । सोही समयमा ४० वटा उद्योगले नामसारी गरेका छन् । खरिद बिक्रीपछि नामसारी गरिएको उनले बताए । ११ वटा उद्योगले ठाउँसारी गरेका छन् ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २५८ वटा उद्योग दर्ता भएका छन् । साना उद्योगतर्फ ती फर्म दर्ता भएका हुन् । गत वर्षको तुलनामा यस वर्ष उद्योग दर्ता हुने क्रम न्यून र बन्द हुने तथा बिक्री हुने क्रम तीव्र भएको उनले बताए । सोही समयमा व्यावसायिक फर्म १८१ वटाको लगत कट्टा गरिएको छ । १३ वटाको नामसारी र २२ वटाको ठाउँसारी गरिएको उनले जानकारी दिए । व्यावसायिक फर्मतर्फ २७३ वटा नयाँ दर्ता भएका छन् ।
गत आर्थिक वर्ष २०७९।०८० मा व्यवसाय बन्द गर्नेको संख्या ४३४ रहेको थियो । यस्तै ३८ वटाले ठाउँसारी गरेका थिए । गत आर्थिक वर्ष २०७९/०८० मा २६९ वटा उद्योग बन्द भएका थिए । उनका अनुसार गत आर्थिक वर्षमा ८५९ वटा उद्योग दर्ता भएका थिए । सो वर्ष नामसारीका लागि ६३ वटा उद्योगका सञ्चालकले निवेदन दिएका थिए भने ३४ वटाले स्थान परिवर्तन गरेका थिए ।
वैदेशिक रोजगारीका लागि कम्पनी दर्ता गरेर आयआर्जन देखाउने र प्रयोजन सकिएपछि कम्पनी बन्द गर्न आउनेको संख्या बढ्दो रहेको उनले बताए । उद्योग सञ्चालन गर्ने तर यहाँ आम्दानी नभएपछि विदेश जानका लागि बन्द गर्नेको संख्या उच्च रहेको उनले बताए । उनले भने, ‘पाँच लाखसम्मको उद्योग वा व्यापारिक फर्म पालिकामा दर्ता हुने यहाँ बन्द गराएको पाइन्छ ।’ आर्थिक मन्दी, कोरोना असरका कारणले साना उद्योग बन्द हुने अवस्थामा पुगेको उनले बताए ।
कार्यालयमा दर्ता हुन आउने उद्योगहरु अधिकांश महिलाका नाममा दर्ता हुने गरेका छन् । राजस्वमा ५० प्रतिशत छुट हुने भएकाले महिलाका नाममा दर्ता गर्नेहरुको संख्या बढेको खनालले जानकारी दिए । चालु आर्थिक वर्षमा १३३ जना महिला उद्यमीले उद्योग दर्ता गराउँदा पुरूषका नाममा १११ वटा दर्ता भएका छन् । कारोबार दैनिकबाट