महेन्द्रनगर। कञ्चनपुर र कैलालीका १६ वटा पुलको मर्मत कार्य सुरु भएको छ । महाकाली पुल आयोजना महेन्द्रनगरले सडक विभाग पुल महाशाखाको बीआईएमपी–२ कार्यक्रमअन्तर्गत पूर्वपश्चिम महेन्द्र राजमार्ग र उत्तर–दक्षिण महाकालीअन्तर्गत कञ्चनपुरको गड्डाचौकीदेखि कैलालीको चिसापानीसम्मका १४ वटा पुल र महाकाली राजमार्गका दुईवटा गरी १६ वटा पुलको मर्मत कार्य सुरु गरेको हो ।
२०५४/०५५ सालतिर निर्माण भएका उक्त पक्की पुलको हालसम्म पूर्णरूपमा मर्मत नहुँदा जीर्ण बन्दै गएपछि मर्मत गर्न लागिएको जनाइएको छ । त्यसैगरी महाकाली पुल आयोजना कार्यालयका सूचना अधिकारी तथा इन्जिनियर कपिलप्रसाद पन्तले सुरुमा निर्माण भएका पुल हालसम्म मर्मत नहुँदा पूर्णरूपमा जीर्ण भई यातायात सेवा नै ठप्प हुने भएपछि मर्मत कार्यलाई अघि बढाएको उनको भनाइ छ ।
उनले भने, ‘पुल मर्मतका साथै सडक स्तरोन्नतिका लागि गत असार २२ गते हिम सगरमाथा कन्स्ट्रक्सन प्रालिसँग १६ करोड ९३ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताबमोजिम कम्पनीले पुल विस्तार वा प्रतिस्थापन र रेलिङ मर्मत वा प्रतिस्थापनका कार्य गर्नेछ भने गत असारमा नै ठेक्का भएको भएता पनि ढिलोगरी कार्य सुरु भएको छ । उक्त कार्यले पुललाई दिगो र भरपर्दो बनाउनुका साथै पुलको आयु बढाउने र सडक सुरक्षामा सुधार ल्याउन सहयोग पुग्ने सूचना अधिकारी तथा इन्जिनियर पन्तले बताए ।
इन्जिनियर पन्तका अनुसार सडक सुरक्षा स्तरोन्नतिलगायत पानीमा रहेका पिलर, रेलिङ, पुलको भित्री तथा बाहिरी भाग कार्बन फाइबर, कार्बन लेमिनेट स्ट्रिप, एक्स्टेन्सन रिप्लेसमेन्ट, इक्सपान, इपोक्स मोटारलगायतका उपकरण बिग्रिएका कारण पुल मर्मत गरिन लागिएको पन्तले बताए । पुल सुरक्षाका लागि नदी नियन्त्रणअन्तर्गत तटबन्ध निर्माण कार्यसमेत भइरहेको इन्जिनियर पन्तको भनाइ छ । उनले भने, ‘यसअघि पुल जोडिएको स्थानमा गाडी गुडाउँदा हल्लाउने, पानी पुलभित्र पसेर जोखिम बढाएको थियो, अहिले पुलकै लेबलमा मर्मत गरिएको छ, पानी सीधै नदीमा बगाइएको छ ।
सडक डिभिजन कार्यालय कञ्चनपुरका सूचना अधिकारी पियुष चटौतले कैलालीको खुटिया पुलका लागि फाइल विभागमा पठाइएको बताएका छन् । गत आर्थिक वर्षमा खुटिया पुल मर्मतका लागि स्थानीयले आग्रह गरेपछि सडक डिभिजन कार्यालय महेन्द्रनगरले पुल मर्मतका लागि एक करोड २४ लाखमा २०८० असार २५ गते काम सम्पन्न गर्ने गरी वीरभद्र कन्स्ट्रक्सन धनगढीले २०७९ साल फागुनमा ठेक्का पाएको सूचना अधिकारी चटौतले बताए ।
तर कम्पनीले समयमै निर्माण गर्न नसक्दा गत आर्थिक वर्षमा आएको वर्षाकै बाढीले निर्माणाधीन संरचना भत्काइसकेको उनले बताए । काम सम्पन्न नगरेको र भएको कामसमेत बीचमै भत्किएपछि कम्पनीलाई भुक्तानी नगरिएको सूचना अधिकारी चटौतले बताए । पूर्वपश्चिम राजमार्गका सबै पुल हेर्नेगरी सरकारले महाकाली पुल कार्यालयलाई जिम्मा दिएको चटौतको भनाइ छ । कारोबार दैनिकबाट