सोलुखुम्बु। विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आउने क्रम सुरु भएको छ । चिसोका कारण हिउँदमा केही महिना पर्यटक आवागमन प्रायः ठप्प बनेको खुम्बु क्षेत्रमा फागुन लागेसँगै स्वदेशी तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको हो ।
पर्यटक प्रहरी कार्यालय नाम्चेको तथ्याङ्कअनुसार अहिले दैनिक ५० देखि ६० जनासम्म विदेशी पर्यटक खुम्बु प्रवेश गरिरहेका छन् । फागुन लागेसँगै पर्यटक आवागमनमा वृद्धि भइरहेको बताइएको छ।
सगरमाथा क्षेत्रमा विदेशीको चाप बढिरहेको हो। पर्यटक आगमनसँगै घरबास, होटल बन्द गरेर न्यानोस्थलमा गएका उद्यमी तथा होटल व्यवसायी पनि काममा फर्केका छन्।
यस क्षेत्रमा सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरा छन् । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुगजस्ता पक्षी पाइन्छन्। सगरमाथा क्षेत्रमा आउने पर्यटकले यहाँको दृश्यावलोकन, वन्यजन्तुको अवलोकनलाई प्राथमिकतामा राखेर भ्रमण गर्ने गरेका छन् ।