स्याङ्जा। पूर्वाधार विकास कार्यालय स्याङ्जाले यस आर्थिक वर्षमा पाँच मोटरेबल पुल निर्माण गर्ने भएको छ । पूर्वाधारले चार मोटरेबल पुल निर्माण थालेको छ भने एक पुल निर्माणको अन्तिम तयारीमा छ ।
पूर्वाधारले गैरीघाट मोटरेबल पुल बिरुवा-६, रातोखोला मोटरेबल पुल गल्याङ-५ पिडीखोलाँ, राक्सेखोला मोटरेबल पुल बिरुवा १, सिङहाले मोटरेबल पुल पुतलीबजारा ३ निर्माण अगाडि बढेको छ ।
पूर्वाधार विकास कार्यालयका प्रमुख सुमन गिरीले पुतलीबजार नगरपालिका ५ मा पौवेखोला मोटरेबल पुल बोलपत्र आह्वान भएको बताए । यहाँ निर्माण अगाडि बढाएका सबै पुल सम्झौताको दुई वर्षमा निर्माण सकिने गिरीले बताए। ३६ मिटर लम्बाई रहेको गैरीघाट पुल धनथान एमपी जेभीले गत भदौ २१ सम्झौता गरेर निर्माण अगाडि बढाएको हो भने १० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सुन्दर पोखरेलले बताए।
पुल पाँच करोड ५१ लाख ७५ लाख ६६६ रुपियाँ ६४ पैसामा निर्माण हुने पोखरेलले बताए । यस्तै, ३० मिटर लामो रातोखोला पुल हिमतारा पूर्वाधार विकास कम्पनी सुनसरीले पाँच करोड ४६ लाख १४ हजार ९७१ रुपियाँ ९० पैसामा निर्माण गर्नेछ ।
राक्सेखोला मोटरेबल पुल चार करोड ९२ लाख ७१ हजार २१ रुपियाँ ५८ पैसामा हिम निर्माण सेवा काठमाडौँले निर्माण गर्ने छ भने पुल ३० मिटर लम्बाई छ । यस्तै, ३० मिटर लम्बाई रहेको सिङहाले पुल चार करोड ५२ लाख ६८ हजार ८४६ रुपियाँ ८७ पैसामा सुयन बुइडल्र्स स्याङ्जाले निर्माण गर्ने छ ।
१५ मिटर लामो पौवेखोला मोटरेबल पुल बोलपत्र आह्वान गरिएको र एक महिनामा सम्झौता भएर काम अगाडि बढ्ने छ । निर्माण हुन पाँच वटै मोटलेबल पुल ८.४ मिटर चौडाइ हुनेछन् । गोरखापत्रबाट