खोटाङ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सांस्कृतिक संग्रहालय स्थापना गरिएको छ । जालपाको पुरानो गाविस भवनमा संग्रहालय स्थापना गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राई र स्थानीय ८३ वर्षीय बलबहादुर राईले आइतबार संयुक्त उद्घाटन गरेर विधिवत रूपमा संग्रहालय स्थापना गरिएको हो।
पुस्तौँदेखिको पुराना घरेलु सामग्री संकलन गरेर संग्रहालय स्थापना गरिएको छ जहाँ दुई सय वर्ष पुरानो सामग्री समेत राखिएका छन् । यहाँ पुराना दूधेरी, काठको दूध चलाउने डाडु, छालाको थैली, बेतको भुने, आरनमा आगो फुक्ने भाँटी, जाँतो, काठको कुपी, काठको माना, भाला, धनुषवाण, तरबार, काठको मुखुण्डो, कोक्रो, ढाकर, जाल, थकौली, ढडिया, चर्खा, हतासो, रासी, थुरी लगायतका सामाग्री राखिएका छन् ।
त्यसैगरी काठको पन्यू, काठको चम्चा, काठको गिलास, हर्पे, ठेका, मदानी, दाबिलो, डोको, नाङ्लो, ओख्ली, लोहोरो, हलो, फुर्लुङ, मुढा, डोको, थुम्से, टोलङ, दाप, फिपी, घुर्रा, जुवा, हलुडा, सोइला, फिर्के, खरेटो, चिम्टा, हासिया, कचिया, सिलौटा, दोहोरो, कर्द लगायतका सामग्री पनि राखिएका छन् ।