काठमाडौं। कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु भएको छ। सोमबार मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रङ्गशाला निर्माण कार्यको शिलान्यास गरेका छन्।
यसैगरी सो रङ्गशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन्। दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्ने भएकाले त्यस अगावै रङ्गशाला निर्माण भइसक्नुपर्ने उनको भनाइ छ। साथै खेलकूद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्व बुझेर कामलाई गति दिने उनको विश्वास रहेको छ। यसैगरी उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
रङ्गशालाको शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रङ्गशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको जानकारी दिएका छन्। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रङ्गशाला निर्माण गर्ने सरकारको योजनाले खेलकूदको विकासमा बहुआयामिक टेवा पुर्याउने धारणा व्यक्त गरेका छन्। कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार १ अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको निर्माण गरिने योजना रहेको छ।
उक्त रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बा्ेलपत्र आह्वान गरेको थियो। बोलपत्रमा सहभागी रहेका ६ निर्माण कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो। रङ्गशाला निर्माणको जिम्मा निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चरंलाई दिएको छ। खेलकूद विकास परिषद् र निर्माण कम्पनीबीच निर्माण सुरु भएको ३० महिनामा काम सम्पन्न गर्ने गरी कात्तिक अन्तिम सातामा सम्झौता भएको थियो। उक्त रङ्गशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिने भएको छ भने रङ्गशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्ने योजना रहेको छ। उक्त रङ्गशालामा बहुउद्देश्यीय कभर्डहल पनि बन्ने भएको छ।
रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ भने ८ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक निर्माण गरिने भएको छ। भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ। अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ। टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुने भएको छन्। भौतिक संरचनाको अभावमा सो क्षेत्रको खेलकूद क्षेत्र विकास हुननसकेका बेला रङ्गशाला निर्माणले कर्णालीका खेलाडी उत्साहीत बनेका छन्।