काठमाडौं। गोल्यान समूहले ८०० मेगावाटका जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको छ । समूहले सरकारसँग अनुमतिपत्र लिई ८ आयोजनाको निर्माण प्रक्रिया अघि बढाएको हो ।
हालसम्म ७८१ मेगावाटका आयोजना निर्माणका विभिन्न चरणमा रहेको गोल्यान समूह ऊर्जा विभागले जनाएको छ। समूहले ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली, १३५ मेगावाटको नामलाङ, ९७ मेगावाटको इसुवा खोला, ४६ मेगावाटको माथिल्लो बलेफी, ३६ मेगावाटको बलेफी, ५० मेगावाटको ताराव खोला, ५४ मेगावाटको तल्लो अप्सुवा मिजु, ५७ मेगावाटको मुगु खोला अघि बढाइरहेको छ ।
गोल्यान समूहको संलग्नता रहेकामध्ये ३६ मेगावाटको माथिल्लो बलेफी ‘ए’ जलविद्युत् आयोजना सञ्चालनमा आइसकेको छ । सिन्धुपाल्चोकमा बलेफी हाइड्रो पावर लिमिटेडले निर्माण सम्पन्न गरेको आयोजनाले २०७९ कात्तिकदेखि विद्युत् उत्पादन गरिरहेको छ ।
बाँकी ७ आयोजना निर्माणका विभिन्न चरणमा छन् । माथिल्लो बलेफी ‘ए’ सँगै यही जिल्लामा ४६ मेगावाटको माथिल्लो बलेफीको निर्माण भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणसँग २०८० मंसिरमा विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न गरी निर्माण अघि बढीसकेको छ । यसमा गोल्यान समूहको ८२ प्रतिशत लगानी छ ।
यसैगरी, केएनबिआर इसुवा हाइड्रो पावर कम्पनीमार्फत ९७.२ मेगावाटको इसुवाखोला आंशिक जलाशय आयोजना निर्माण भइरहेको छ ।
यस्तै, ५४ मेगावाटको तल्लो अप्सुवा मिजु इनर्जी लिमिटेडमार्फत निर्माण भइरहेको छ ।
१३५ मेगावाटको नामलाङ खोलाको अध्ययन पूरा गरी उत्पादन अनुमतिका लागि विद्युत विकास विभागमा आवेदन दिएको छ ।
बाँकी ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली, ५७ मेगावाटको मुगु कर्णाली र ५० मेगावाटको ताराप खोला अध्ययनको चरणमा छन् ।
कृषि, निर्माण, वित्तीय सेवा लगायत विभिन्न क्षेत्रमा आवद्ध रहेको समूहले ऊर्जा विकासमा पनि व्यापक रूपमा अघि बढेको हो ।
समूहले जलविद्युत् बाहेक ६० मेगावाटका सौर्य आयोजना पनि अघि बढाएको छ ।