पर्वत। पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा ४ वटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो ।
पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदि खोला, पैँंयू गाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दीखोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ।
डिमुवा–राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ। २ करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको बताइएको छ। यो पुल निर्माणपछि मोदी–७ राम्जा, वडा नं ८ चित्रे र कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कका बासिन्दा लाभान्वित हुने छन् ।
त्यस्तै, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ। करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशत भन्दाबढी काम सम्पन्न भइसकेको बताइएको छ। ४ करोड ४३ लाख रुपैयाँ लागतमा उक्त पुल निर्माण भइरहेको छ।
वर्षायाममा सरौखोलामा आउने ठूलो बाढीका कारण पैंँयू गाउँपलिकाको सरौखोला र महाशिला गाउँपालिकाको होश्राङदी, भोसक्सिङ र बालाकोटका नागरिकले समस्या भोग्दै आएका थिए ।
कुश्मा–१० पीपलटारी र फलेवास–३ शङ्करपोखरी जोड्नेगरी मल्याङदीखोलामाथि मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको छ । पुल निर्माणका लागि बोलपत्र आह्वान भइसकेको कार्यालयले जनाएको छ । करिब १६ मिटर लामो यो पुल झण्डै रु चार करोडको लागतमा बन्नेछ ।
बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने उक्त पुल दुई वर्षभित्र सम्पन्न हुने अधिकारीले बताउनुभयो । यो पुलका लागि चालू आवमा ७५ लाख रुपैयाँ विनियोजन भएको छ ।
यसैगरी दक्षिण पर्वतको पैँयू गाउँपालिका–७ स्थित भोर्ले खोला पनि मोटरेबल पुलको निर्माण प्रक्रिया अघि बढेको छ । बहुवर्षीय योजनाअन्तर्गत निर्माण हुने यो पुलका लागि चालू आवमा ३० लाख रुपैयाँ विनियोजन भएको छ । यसै वर्ष बोलपत्र आह्वान प्रक्रिया पूरा गरी सम्झौता गरिने भन्दै आगामी वर्षको बजेटबाट पुल निर्माण सुरु हुने कार्यालयले जनाएको छ। चारवटै मोटरेबल पुलको निर्माण अवधि दुई वर्षको रहेको छ ।
आगामी दुई वर्षभित्र चारवटै पुल निर्माण सम्पन्न हुने छन् । निर्माणाधीन लिदिखोला र छत्तिसेघाट मोटरेबल पुल चालू आवमै सम्पन्न हुने भएको छ। बजेटको सुनिश्चितता भएपछि बाँकी दुई पुल निर्माण सुरु गरिने भएको हो। मोटरेबल पुल निर्माणपछि बर्खायाममा ठप्प जस्तै हुने ती सडक सञ्चालन हुने भन्दै स्थानीय खुसी भएका छन् ।