ललितपुर। आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा ललितपुर जिल्लाको ६ स्थानीय तहहरू मध्ये महाङ्काल गाउँपालिका जिल्लाको उत्कृष्ट भएको छ ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आयोगले कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार महाङ्काल गाउँपालिकाले ३८.४४ अंक प्राप्त गरी ललितपुरकै पहिलो बनेको हो ।
प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न निर्धारण गरिएको कार्यसम्पादन सूचकको मूल्याङन प्रतिवेदनअनुसार वित्त आयोगले विभिन्न १७ सूचकलाई मध्यनजर कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ ।
यसमा असार १० भित्र बजेट पेश गरेनगरेको, असार मसान्त भित्र बजेट पारित गरेनगरेको, आय व्ययको प्रक्षेपण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेश गरेनगरेको, बजेटको वर्षिक समिक्षा गरी कार्तिक मसान्तभित्र सार्वजनिक गरेनगरेको, विनियोजित रकम अनुसार खर्चको व्यवस्था, बेरुजुको अवस्था स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र)को प्रयोग गरेनगरेको जस्ता सूचकहरुका आधार मुल्यांकन गरिएको छ ।
त्यस्तै, आवधिक योजना तर्जुमा गरेरनगरेको, कक्षा १ देखि ८ सम्म खुद विद्यार्थी भर्ना दर, कक्षा–८ को तुलनामा कक्षा–९ मा विद्यार्थी टिकाउ दर, सामुदायिक विद्यालयबाट कक्षा १० मा १.६ भन्दा वा सो भन्दा उच्च जीपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भजाँच गरेका महिलाको अनुपात, कुल गर्भवतीमध्ये स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पूर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकहरु रहेका छन् ।
स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्छ ।