पर्वत। पर्वतको शंकरपोखरीमा निर्माणाधीन सडक गुणस्तरहीन भएको पाइएपछि डोजर लगाएर भत्काइएको छ । पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा निर्माणाधीन स्वास्थ्यचौकी– रातडाँडा–पुड्केस्वारा सडक डोजर लगाएर भत्काइएको हो ।
स्तरोन्नतिका लागि लगाइएको मेसिनरी पर्खालमा सिमेन्ट बालुवाको मसला नराखी ढुंगामात्रै चिनेर बनाइएको गुनासो आएपछि पुगेको अनुगमन टोलीले डोजर लगाएर भत्काइदिएको हो । २५ मिटर लामो पर्खाल पूर्णरूपमा डोजरले भत्काएर पुनर्निर्माण गर्न लगाइएको छ । त्यस्तै सडकका विभिन्न भागमा भरिएको ग्यावियन जालीसमेत भत्काउन लगाइएको छ ।
पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारी, फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्री, इन्जिनियर जीता गिरीसहित पत्रकारको टोली बिहीबार बिहान अनुगमनका लागि पुगेको थियो । अनुगमनको क्रममा मसला नराखिकन पर्खाल चिनिएको, मसिना ढुंगा राखेर ग्याबियन जाली भरिएको पाइएपछि पुरै भत्काएर पुनर्निर्माण गर्न लगाइएको इन्जिनियर जीता गिरीले जानकारी दिए ।
इन्जिनियर गिरीले ठेकेदारले कार्यालयसँग समन्वयसमेत नगरी काम गरेको बताए । कार्यालयलाई जानकारी समेत नदिई गुणस्तरहीन काम गरेको पाइएको भन्दै यस्ता ठेकेदारलाई आवश्यक कारबाहीको दायरा ल्याइनुका साथै मापदण्डअनुसार काम नभएमा भुक्तानीसमेत रोकिने बताए । ठेकेदारको लापरबाहीका कारण मापदण्डविपरीत संरचना निर्माण भएपछि स्थानीयवासीले समेत गुनासो गरेका थिए ।
एक बोरा सिमेन्ट बराबर आठ बोराभन्दा बढी बालुवा राखेर मसला बनाइएका कारण पर्खाल कमजोर भएको गुनासो बढेपछि अनुगमन टोली पुगेको थियो । जुनसुकै पूर्वाधारका काम पनि तोकिएको मापदण्ड र गुणस्तरअनुसार हुनुपर्ने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले बताए । मापदण्डविपरीत गरिएको कामको कार्यालयले भुक्तानीसमेत नदिने र आगामी दिनमा त्यस्ता ठेकेदारलाई योजना निर्माणको जिम्मासमेत नदिइने उनले बताए ।
उक्त सडक कार्यालयका प्राविधिकको नियमित अनुगमनमा तोकिएको मापदण्डअनुसार पुनर्निर्माण गरिने उनको भनाइ छ । पूर्वाधार विकास कार्यालयमार्फत भ्याटबाहेक १९ लाख रुपैयाँको लागतमा सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक निर्माणको जिम्मा माई कन्स्ट्रक्सन प्रालिले लिएको छ । गत पुसमा सम्झौता भएको सडक स्तरोन्नति कार्य आगामी असार १५ गते सक्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
सडकमा मेसिनरी पर्खाल, ग्याबियन जाली भर्ने, नाली निर्माण, कटिङलगायतका काम गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । माई कन्स्ट्रक्सन प्रालिका प्रमुख धनबहादुर थापाले आफू नभएको बेला मजदुरले गुणस्तरहीन काम गरेको आरोप लगाए । उनले मापदण्ड नपुगेका ठाउँमा पूरै भत्काएर पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाए । आफूले बालुवा सिमेन्टको पर्याप्त मात्रा राखेर गुणस्तरीय काम गर्न भनेको भए पनि मजदुरले कमजोरी गरेकाले भत्काएर कार्यालयको मापदण्डअनुसार नै बनाउने थापाले बताए । कारोबार दैनिकबाट