जोमसोम। उपल्लो मुस्ताङको लोमान्थाङ-२ छोसेर अवस्थित सेल्तामा गुफाभित्र पर्यटक बस्न मिल्ने गेष्ट हाउस सञ्चालनमा आएको छ। उक्त गेष्ट हाउस सन् २०१८ साल देखि स्थानीय पेमा घिर्मी गुरुङले सञ्चालन गरेका हुन्।
उक्त गुफाभित्र रहेको गेष्ट हाउसमा रात बिताउन स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य उपस्थिती हुने गरेको पाइन्छ। लोमान्थाङ-२ छासेरको सबैभन्दा ठूलो झोङ गुफाभन्दा केही तल पर्ने अर्को मझौला गुफामा गुरुङले गेष्ट हाउस सञ्चालन गरेका हुन्। उनले गुफाभित्र रहेको गेष्ट हाउसको नाम शेल्कार गेष्ट हाउस राखेका छन्।
यस गेष्ट हाउसमा जान जोमसोम-कोरला राजमार्गदेखि पूर्वतर्फ २० मिनेटको पैदलयात्राबाट गन्तवव्य तय गर्न सकिन्छ। गेष्ट हाउस रहेको गुफासम्म पुग्न फलामे रेलिङसहितको सिंढी बाटो हिँड्नुपर्छ। गुफाभित्र ४ वटा कोठा र दुईवटा प्रवेशद्वार रहेका छन्।
गुफा भित्रको कोठामा उनले बत्ती र पानीको व्यवस्था समेत मिलाएका छन्। त्यसैगरी उनले गुफाको गेष्ट हाउसबाहेक गुफा बाहिर ८ बेड क्षमताको गेष्ट हाउस छ। गुफा पुग्ने पर्यटकले रुचीअनुसार गुफाभित्र वा बाहिर बस्ने भन्ने दुबै खालको सुविधा मिलाएका छन्।
गुफाभित्र बाँस बस्न आउने पर्यटकलाई ३ हजारदेखि ७ हजारसम्म शुल्क लिने गरेको उनले बताए। उनका अनुसार मेलै सञ्चालन गरेको होटल युनिक छ ,पर्यटक आर्कषणका लागि गुफाभित्रै गेष्ट हाउस बनाएको हुँ। उपल्लो मुस्ताङ आएका पर्यटकले गुफाभित्र होटल देखेपछि एक रात बिताएर मात्र फर्किन्छन्।
कोरोना कहर अघि गुफाभित्रै गेष्ट हाउस निर्माण गरेपनि पर्यटक आउन नसकेपछि व्यवसायमा असर पुगेको भएतापनि पछिल्लो समय कोरोना कहरपछि बुकिङ धमाधम आउन थालेको जानकारी दिए।
गुफा भित्र रात विताउने कुरा सुन्दा मान्छेलाइ अनौँठो लाग्न सक्छ तर, गुफाभित्र बास बस्ने पर्यटकले अलि बेग्लै प्रकारका अनुभूति गर्ने गरेको उनले बताए। उपल्लो मुस्ताङमा दर्जनौं गुफाहरु भएपनि गुफाभित्र उनले सञ्चालन गरेको गेष्ट हाउस भने पहिलो हो।
उनका अनुसार आफ्नो पुस्ताहरुले सदियौं वर्षअघि पहाड खोपेर गुफा निर्माण गरेको उल्लेख छ। विस्तारै मानिसमा आएको चेतनाको विकाससँगै गुफा छोडेर बाहिर घर बनाएर बस्न थालेपछि गुफाहरु खाली हुन थालेको उनको बताए।