गलकोट। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।
बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जालीलगायत पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा खण्डमध्ये बलेवा हर्मिचौर खण्डमा तीव्र गतिमा काम भइरहेको छ भने बलेवा मालढुङ्गा खण्डमा सुस्त गतिमा काम भइरहेको जैमिनी नगरपालिकाले जनाएको छ।
दुवै खण्डमा धमाधम काम भइरहेको थियो, बजेट अभावले वलेवाबाट मालढुङ्गासम्मको १० किमी सडकमा काम सुस्त छ तर हर्मिचौरदेखि बलेवासम्मको ४४ किमी सडकमा कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको बताइएको छ।
बलेवाबाट हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायत आधुनिक औजार प्रयोग गरिएको छ । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य गरिएको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोड रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरी सक्नुपर्नेछ ।
बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । ३ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । कालिका कन्स्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ।