काठमाडौँ। सरकारले अघि सारेको २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा गर्न आगामी ६ वर्षमा करिब ५० खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ ।
एचआइडिसिएल र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सहकार्यमा आयोजित ‘२८ हजार ५०० मेगावाट विद्युत् जलविद्युत् उत्पादनका लागि आवश्यक वित्तीय स्रोतको व्यवस्थापन र एचआइडीसीएलको तयारी तथा योजना’ विषयक नलेज सिरिज कार्यक्रममा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले यस्तो बताएका हुन्।
उनले विद्युत् आयोजना, सबस्टेसन र प्रसारण तथा वितरण लाइन निर्माण गर्न उक्त परिमाणको लगानी आवश्यक पर्ने अनुमान गरिएको बताए।
उनले भने, ‘प्रतिमेगावाट २५ करोड रुपैयाँका दरले १७ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्न ४४ खर्ब रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान छ। नेपाल विद्युत् प्राधिकरणले सबस्टेसन र प्रसारण तथा वितरण लाइनका लागि ५ खर्ब रुपैयाँ बढी लागत अनुमान गरेको छ । जलविद्युत्, सबस्टेसन र प्रसारण तथा वितरण लाइन निर्माण गर्न करिब ५० अर्ब रुपैयाँ लगानी चाहिने देखिएको छ ।’
आवश्यक लगानीमध्ये करिब ३७ खर्ब रुपैयाँ आन्तरिक स्रोतबाट जुटाउन सकिने समेत उनले बताएका छन्। उनले भने, ‘सार्वजनिक कोष, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनी, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष, प्राधिकरण, नेपाल दुरसञ्चार कम्पनी लिमिटेड, रेमिट्यान्स, एनआरएन फण्ड, निजी लगानीकर्ता र सर्वसाधारण लगायतबाट लगानी जुटाउन सकिन्छ।’
बाँकी १३ खर्ब रुपैयाँ बहुपक्षीय वित्तीय संस्था, प्रत्यक्ष वैदेशिक लगानी, जलवायु कोष, कार्बन व्यापार जस्ता बाह्य स्रोतबाट व्यवस्थापन सकिने उनको भनाइ छ ।