चितवन। विगत १० वर्षदेखि तटबन्ध निर्माण थालिएको भएपनि बजेट अभावमा काम हुन नसकेको नारायणी नदी तटबन्धनमा हाल एकैपटक रु ५ अर्बको काम अघि बढाउने तयारी गरिएको छ। आर्थिक वर्ष २०६६/६७ बाट तटबन्ध निर्माणको काम निरन्तर भइरहे पनि अहिलेसम्म रु १ अर्ब ८३ करोड मात्र विनियोजन हुँदा काम प्रभावकारी हुनसकेको थिएन।
नारायणी नदी तटबन्धन व्यवस्थापन आयोजनाको काम भरतपुरमार्फत हुँदै आएको छ। यस आयोजनाले नारायणी नदीको तटबन्धलाई मुख्य प्राथमिकता दिएर काम गरिरहेको भएपनि बजेटको अभावमा लक्ष्य अनुसारको काम हुन भने सकेको छैन। नारायणी नदीले चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका एवं विनयत्रिवेणी गाउँपालिका प्रभावित पर्दै आएको छ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले नारायणी नदी तटबन्ध गरी पश्चिम चितवनलाई सुरक्षित गराउन सम्बन्धित निकायमा निरन्तररूपमा लागिपरेको बताएकी छिन्। नदी तटबन्धनका लागि गुरुयोजना तयार भइसकेको उनले जानकारी दिएकी छिन्। उक्त गुरुयोजनालाई सिँचाइ विभागले स्वीकृत गरी अर्थ मन्त्रालय पठाएको छ। जसमा चितवन र नवलपरासीतर्फ तटबन्धनका लागि रु २३ अर्ब ५८ करोड ४३ लाख खर्च लाग्ने प्रस्तावित लागत आएको उनले जानकारी दिएकी हुन्।
जसमध्ये पहिलो चरणमा रु ५ अर्बको कामका लागि बहुवर्षीय खरिद कार्य अघि बढाउन बजेट सुनिश्चितताका लागि अर्थ मन्त्रालयमा फाइल पठाएको र मन्त्रालयबाट केही दिनमा नै स्वीकृति हुने जानकारी दिइएको छ। वर्षात्को समयमा नारायणी नदी परिसरमा ठूलो जोखिम निम्तिने गरेपछि महानगरपालिकाले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै आएको थियो। केही दिनअघि सोही क्षेत्रका सांसद एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा अर्थमन्त्री र सचिवले सार्वजनिक कार्यक्रममा तटबन्धको काम तत्काल अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरेको प्रमुख दाहालले बताएकी छिन्।
महानगरपालिकाले विकास बहस नाम दिएर गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको पनि उपस्थिती रहेको थियो। यसैगरी नारायणी नदी तटबन्ध गरिएसँगै पश्चिम चितवनको धेरै भाग सुरक्षित हुने र बगरमा परिणत भएको धेरै जमिन उपयोगमा ल्याउन सकिने प्रमुख दाहालको भनाइ छ। तटबन्ध निर्माण भएपछि त्यसबाट चौध हजार १९ हेक्टर जमिन डुबानबाट बच्ने र कम्तीमा ८० हेक्टर जमिन संरक्षण गरी उपयोगमा ल्याउन सकिने जनाइएको छ। नारायणी नदीमा धेरै बाढी आउँदा १४ हजार ४०३ क्यूविक मिटर प्रतिसेकेण्ड पानीको वहाब रहने गरेको अध्ययनले देखाएको छ।
अर्थ मन्त्रालयबाट बजेट सुनिश्चितता भएलगत्तै बहुवर्षीय खरिद कार्य गर्न तयारी गरेको नारायणी नदी व्यवस्थापन आयोजनाले जनाएको छ। गुरुयोजनाअनुसार चितवनतर्फ ३५ किलोमिटर र नवलपरासीतर्फ ५७ किलोमिटर तटबन्ध र स्पर निर्माण गरिने योजना रहेको कार्यालयका सिनियर डिभिजनल इञ्जीनियर दिनेश पौडेलले जानकारी दिएका छन्। यसैगरी चितवनका लागि रु ९ अर्ब ५५ करोड र नवलपरासीका लागि रु १४ अर्ब ४३ करोड खर्च लाग्ने प्रस्तावित लागत रहेको छ।
यस वर्ष रु ५ अर्ब बजेटबाट चितवनतर्फ भरतपुर महानगरपालिकामा ६.२७४ किलोमिटर तटबन्ध गरिने योजना रहेको छ भने नवलपरासीतर्फ ४.२४६ किलोमिटर तटबन्ध गरिने जनाइएको छ। अहिलेसम्म चितवनतर्फ १५ किलोमिटर र नवलपरासीतर्फ ११ किलोमिटर तटबन्ध गरिसकिएको जनाइएको छ। चालु आर्थिक वर्षमा भरतपुर महानगरमा रु ८ करोड ६५ लाख र नवलपरासीका विभिन्न स्थानमा रु ९ करोड ३५ लाख बराबरको तटबन्ध गर्नका लागि काम अघि बढाइसकिएको छ।