काठमाडौं। झापा दमकस्थित दापगाछीमा बनेको व्यावसायिक भ्यु–टावरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। एक अर्ब ४५ करोड लागतमा निर्माण भएको टावरको काम ९६ प्रतिशत पूरा भएको हो।
टावरको अब फिनिसिङको काम मात्र बाँकी रहेकाले संरचना निर्माणको काम भने पूरा भइसकेको छ । फिनिसिङको काम सकिनासाथ भ्यू–टावर निर्माणको काम शतप्रतिशत सम्पन्न हुन्छ।
टावर पार्किङ, उद्यान, पार्क, बाल उद्यानसहितका संरचनासहित बनेको छ। भवनभित्र धेरै ‘पार्टेसन’ नगरिएको र व्यावसायिक प्रतिष्ठानहरूले आफ्नो आवश्यकता अनुसार भवनमा आफ्नो संरचना राख्न सक्ने गरी बनाइएको छ।
चट्याङबाट बचाउने प्रविधि समेत भवनमा राखिएको छ । यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन अनुसार भवनको पहिलो चार तलासम्म व्यापारिक प्रयोजनका पसल, पाँचौं तलामा सेमिनार हल, छैटौंदेखि नवौं तलासम्म बैंक, वित्तीय संस्था र व्यावसायिक संस्थाका कार्यालय रहने छन् ।१०औं तलाभन्दा माथि १४औं तलासम्म कृषि तथा औद्योगिक सामग्री प्रदर्शनी हल, १५औं र १६औं तलामा रेस्टुरेन्ट बन्ने भएका छन् । १७औं र १८ औं तला भने दृष्यावलोकनका लागि उपयोग गर्ने गरी डीपीआर तयार पारिएको छ।
नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा सय मिटर अग्लो १८ तले भ्यु टावर निर्माणका लागि २७ असार ०७६ मा ठेक्का लागेको थियो। २७ पुस ०७८ मा सक्ने गरी चिनियाँ कम्पनी जेडसिजिआइइसी, आशिष र ओम साइराम जेभीले एक अर्ब ५६ करोड १४ लाख ३९ हजार एक सय ६४ रुपैयाँमा ठेक्का लिएका थिए । हाल यो योजनाको लागत बढेर एक अर्ब ७० करोड पुगेको छ। भ्यु टावर निर्माणको काम समयमा नसकिएपछि दुईपटक म्याद थप्दा बल्ल काम पूरा हुन लागेको हो।