हेटौंडा। किसानद्वारा उत्पादित तरकारी भण्डारण गरी उचित समयमा बिक्री गर्न सकिने प्रबन्धका लागि मकवानपुरको मनहरि गाउँपालिकाले हाँडीखोलामा कोल्ड स्टोर निर्माण सुरु गरेको छ । मनहरि गाउँपालिकाले करिब सवा ६ करोडभन्दा बढी लगानीमा तीन नम्बर वडामा निर्माण हुन लागेको कोल्ड स्टोरको सोमबार शिलान्यास गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, उपाध्यक्ष सीता पुलामी मगरसहित वडाध्यक्षको उपस्थितिमा शिलान्यास गरिएको हो । हिमालयन नमोबुद्ध जेभीले ६ करोड २८ लाखमा कोल्ड स्टोर निर्माण गर्ने सम्झौता गरेको छ । तकारीको पकेट क्षेत्र मानिने हाँडीखोलामा कोल्ड स्टोर निर्माण भएपछि त्यस क्षेत्रमा उत्पादित तरकारीको भण्डारण गर्ने र उचित मूल्य प्राप्त भएपछि मात्रै बिक्री गर्ने सुविधा किसानले पाउनेछन् ।
कोल्ड स्टोरको क्षमता चार सय मेट्रिकटन हुनेछ । निर्माण कम्पनीले २४ महिनाभित्र कोल्ड स्टोर निर्माण सक्ने प्रतिबद्धता जनाएको छ । शिलान्यास कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले साविक हाँडीखोलाबासीका लागि कोल्ड स्टोर गौरवको आयोजना भएको बताए । निर्वाचनमा आफूले पहिलो एजेण्डाको रूपमा कोल्ड स्टोर निर्माणलाई अघि सारेको स्मरण गर्दै कालाखेतीले सो योजना साकार हुन लागेकोमा खुसी व्यक्त गरे ।
गाउँपालिकाकी उपाध्यक्ष सीता पुलामी मगरले कोल्ड स्टोर निर्माण पश्चात हाँडीखोलाका तरकारी उत्पादक किसानलाई ठूलो लाभ मिल्ने विश्वास व्यक्त गरिन् । किसानले उब्जाएको तरकारीले मूल्य नपाएको अवस्थामा कोल्ड स्टोरमा राखी उचित मूल्य आएपछि बिक्री गर्न सक्ने सुविधा किसानले पाउने पुलामीले बताइन् । मनहरी–३ का वडाध्यक्ष अनन्तप्रकाश अर्यालले निर्माण कम्पनीलाई समयमा काम सम्पन्न गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिलान्यास कार्यक्रममा वडा नं १ का वडाध्यक्ष शिवप्रसाद खनाल, ५ का वडाध्यक्ष दिपेन्द्र अधिकारी, ९ का वडाध्यक्ष राजकुमार श्रेष्ठ, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई लगायतको उपस्थिति रहेको थियो । कोल्ड स्टोर निर्माणका लागि स्थानीय गणेशकुमारी उप्रेतीले १० धुर जग्गा उपलब्ध गराएकी हुन्। कारोबार दैनिकबाट