बाजुरा। बाजुराको बूढीनन्दा नगरपालिका–२ कोल्टीमा रहेको जनप्रकाश माविको आठ वर्षदेखि अलपत्र भवन निर्माण हुने भएको छ । जनप्रकाश माविको अलपत्र भवनको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको हो । भारतीय दूतावासको सहयोगमा आठ वर्ष अगाडि सम्झौता भएको भएपनि ठेकेदारले बिचमै छोडेर भागेपछि अलपत्र रहेको थियो ।
दूतावासको चार करोड ४४ लाख रुपैयाँको लागतमा बन्ने भवन अलपत्र अवस्थामा रहेपछि नगरपालिकाले दूतावाससँग समन्वय गरी नयाँ सम्झौता गरेर अगाडि बढाएको नगर प्रमुख जनककुमार बोहराले बताए । दूतावासको सहयोगमा विसं २०७२ चैत २८ गते जनप्रकाश माविको १५ कोठे भवन निर्माणका सम्झौता भएर बजेट विनियोजन भएको थियो ।
दूतावास र तत्कालीन जिल्ला विकास समितिको दुई पक्षीय सम्झौता आठ वर्ष अगाडि ई–बिडिङ सिस्टमबाट भए पनि निर्माण कम्पनीले बीचमै काम गर्न छोडेर भागेपछि भवन निर्माण अलपत्र अवस्थामा रहेको नगर प्रमुख बोहराले बताए । भवन निर्माणका लागि ‘ग्याल्बो निर्माण सेवा’सँग सम्झौता गरेको थियो । तर निर्माण कार्यको आठ वर्ष बितिसक्दा पनि भवनको २० प्रतिशतमात्रै काम हुन सकेको थिएन ।
विभिन्न प्रक्रिया पूरा गरेपछि भवन निर्माण हुने नगर प्रमुख बोहराले बताए । भवन निर्माण कम्पनीले एक करोड ६९ लाख रुपैयाँ भुक्तानी लिएर अलपत्र रहेको भवन अब बनाउने तयारी रहेको नगर प्रमुख बोहराले बताए । यसअघि निर्माण कार्य अलपत्र पारेको ठेकेदारले ४९ लाख रुपैयाँ बढी भुक्तानी लिएकाले सो रकमको जिम्मा नगरपालिकालाई आएको नगर प्रमुख बोहराले बताए ।
विद्यालयको भवन पुनस् निर्माणका लागि नगर प्रमुख बोहराले दूतावाससँग अनुरोध गरेपछि सो भवनको पुनस् निर्माण गरिने भएको प्रमुख प्रशासकीय अधिकृत सन्तोषकुमार शाहले बताए । नगरप्रमुख र जनप्रकाश माविका प्राधानाध्यापक अनोजराज गिरिलगायतको टोली भारतीय दूतावासमा पुगेर समस्या समाधान गरी टेण्डर प्रक्रिया अगाडि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहले बताए । दूतावासको सहयोगमा दुई छात्रावास भवन र एक विद्यालय भवनका लागि सहयोग गरेको नगरपालिकाले जनाएको छ।
सो भवन निर्माणका गर्ने ठेकेदारको नाममा हालसम्म एक करोड २० लाख रुपैयाँ खर्च भएको देखिएको छ । आर्थिक वर्ष २०७५र०७६ को महालेखा परीक्षणको प्रतिवेदनअनुसार एक करोड ८३ लाख रुपैयाँ निकाशा गरिएको उल्लेख छ । महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख भएअनुसार एक करोड २० लाख रुपैयाँ खर्च भएको देखिएको छ ।
पेश्की ४८ लाख ९३ हजार रुपैयाँ पेश्की रहेको रिर्पोटमा उल्लेख गरिएको छ भने बैंक मौज्जाद १४ लाख ४८ हजार रुपैयाँ रहेको महालेखाको रिपोर्टमा उल्लेख छ । तत्कालीन जिल्ला विकास समितिका कार्यालय प्रमुख स्थानीय विकाश अधिकारी अर्जुनप्रसाद सुवेदी र दूतावासका सहसचिव गम्भीर सिंह र जनप्रकाश उच्च माध्यामिक विद्यालयका प्राचार्य अनोजराज गिरिबीच सन् २०१५ नोभेम्बर ६ मा त्रिपक्षीय सम्झौता भएको थियो । कारोबार दैनिकबाट