काठमाडौं। कालोपत्र गरिएकोे केही महिनामै भत्किएको चापागाउँ–लेले सडकका विभिन्न खण्ड पुनः निर्माण गरिने भएको छ। सुनाकोठीको ८ सय मिटर खण्ड र अरु खण्डमा पनि नयाँ हुने गरी मर्मत गर्न लागिएको हो।
चापागाउँ सडकमा हाल भइरहेको संरचनामध्ये ‘बेस’ मात्रै काम लाग्ने देखिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ। बेसभन्दा माथि नयाँ मसला हालेर सुरुदेखि नयाँ कामका रुपमा गरिने आयोजना प्रमुखले जानकारी दिएका छन्। सडक भत्किएको ठाउँहरुमा नयाँ नै देखिनेगरी निर्माण गरिने उनले जनाएका छन्। यसैगरी थोरै उप्केको ठाउँमा मर्मत गरे पनि ठूलो क्षति पुगेको ठाउँमा भने पुनःनिर्माण नै गर्नुपर्ने जनाइएको छ।
सो आयोजनाले यो महिनाको अन्तिमसम्ममा सो सडक निर्माण गरिसक्ने लक्ष्य राखेको छ। आगामी चैतसम्म निर्माणको अवधि भए पनि त्योभन्दा पहिले नै सम्पन्न गरिने उनले जानकारी दिएका छन्। पहिले कालोपत्र गरेको ६ महिना नपुग्दै चापागाउँ–सुनाकोठी सडकमा खाल्डैखाल्डा भएको थियो। सडक निर्माणका लागि ठेक्का सम्झौता भएको पाँच वर्षमा कालोपत्र भएकामा केही महिनामा सडक पुनः पहिलेकै अवस्थामा पुगेको थियो।
कूल २० मिटर सडक चौडा गर्ने गरी आयोजनाले पाँच वर्ष पहिले ठेक्का सम्झौता गरेकामा सडक विस्तार गर्न नसकिएपछि ५÷६ मिटर चौडाइमै कालोपत्र गरिएको थियो। सडकको चौडाइ कम भएर नाली नबनाइएकाले पानी जम्दा कालोपत्र चाँडै उप्केको आयोजनाले जानकारी दिएको छ। सो सडकमा भएको ३०/४० वर्ष पुराना पाइप फुटेर पानी जमेकाले पनि कालोपत्र उप्काएको थियो।
निर्माण व्यवसायी आफैँले सडक मर्मत गर्दा सरकारी खर्च नबढ्ने र निर्माण सम्पन्न भएको एक वर्षसम्म निर्माण कम्पनीले त्रुटि सच्याउनु पर्ने अवधि हुन्छ। त्यसैले निर्माण अवधिमै सडक भत्किएकाले त्यसको जिम्मेवारी व्यवसायीको भएको आयोजनाले जानकारी दिएको छ। सो सडकका ठाउँठाउँमा खाल्डैखाल्डा हुँदा यात्रुले कष्टकर यात्रा गर्न बाध्य भएका छन्।ढोलाहिटीबाट चापागाउँसम्मको सडकमध्ये खुमलटारबाट ढोलाहिटीसम्म सडक केही फराकिलो बनाइए पनि अन्यत्र भने साँघुरै सडकमा कालोपत्र गरिएको थियो।
झण्डै नौ किमी लम्बाइको सडक निर्माणका लागि तीन प्याकेजमा ठेक्का सम्झौता भएकामा एउटा प्याकेजमा आर्थिक वर्ष २०७३ मा र अरू दुई प्याकेजमा आर्थिक वर्ष २०७४/७५ मा ठेक्का सम्झौता गरिएको थियो। ठेक्काको अवधि सकिएको भएपनि निर्माणस्थल खाली नगरिएकाले अवधि थप हुँदै आएको छ। गत आर्थिक वर्षमा कोभिड सङ्क्रमणका कारण अवरोध पुगेका सडकमा ६ महिना म्याद थप गरेको थियो। चालु आर्थिक वर्षमा पनि सरकारले ६ महिना थप्ने निर्णय गरेको छ।
सरकारले पाँच वर्ष पहिले नै काठमाडौं उपत्यकाका तीनै जिल्लाका गरी १० स्थानका सडक विस्तार सुरु गरेको थियो। आयोजनाले ५३ किमी सडक विस्तारको काम अघि बढाउन विभिन्न खण्डमा ठेक्का सम्झौता गरेको थियो। त्रिपुरेश्वर–कलङ्की–नागढुङ्गा १२ दशमलव ४८ किमी, चाबहिल–जोरपाटी–साँखु १२ किमी, जोरपाटी–सुन्दरीजल सात किमी, लगनखेल–सातदोबाटो ८०० मिटर, इमाडोल–सिद्धिपुर–गोदावरी खोला तीन किमी, कर्मनासा–हरिसिद्धि चार किमी, ढोलाहिटी–सुनाकोठी–चापागाउँ सात किमी, नख्खु–भैँसेपाटी–बुङ्मती साढे तीन किमी सडक विस्तारका क्रममा रहेका छन्। तीमध्ये अहिलेसम्म नागढुङ्गा–त्रिपुरेश्वर सडक मात्रै सम्पन्न भएको छ।