काठमाडौं। एनसेल आजियाटा र राकुटेन भाइबरबीच एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज सहित अन्य सुविधा प्रदान गर्न साझेदारी भएको छ। सम्झौता अनुसार ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रीपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले भाइबर चलाउन छुट्टै डाटा निःशुल्क पाउँने भएकाा छन्।
उक्त प्याकका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क नलाग्ने हुदाँ प्रयोग गर्न अझ सहज हुने भएको छ। कम्पनिका अनुसार पहिलाकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’ को रूपमा उपलब्ध रहेको छ।
एनसेल ग्राहकहरुले भाइबरको स्टीकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टीकर प्याक’ पनि एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहेको जनाइएको छ।
एनसेलका चीफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवका अनुसार डिजिटल जीवनशैली सक्षम पार्ने हाम्रो निरन्तर यात्राको एक प्रयासका रूपमा हामीले ग्राहकहरूलाई नेपालको एक अग्रणी निःशुल्क म्यासेजिङ एपहरू मध्येको एक भाइबरमा निःशुल्क पहुँचको फाइदा दिन सहकार्य गरेका छौं।
एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ। राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भने, उच्च गुणस्तरका आधुनिक सेवाहरू उपलब्ध गराउँदै आफ्नो नेटवर्क र म्यासेजिङ प्लेटफर्ममार्फत् मानिसहरूलाई जोड्ने भाइबर र एनसेलको लक्ष्यबीच ठूलो तालमेल रहेको छ। हामीलाई विश्वास छ यो साझेदारीले हामीलाई नेपालमा आफ्नो पहुँच विस्तार गर्न र मापन गर्न मद्दत गर्नेछ।
ग्राहकहरूले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक १७१२३ ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गर्न सकिने कम्पनीले जानकारी दिएको छ।