काठमाण्डौं। म्याग्दी जिल्लाको रघुगङ्गा, मङ्गला र बेनी नगरपालिकाको सीमा क्षेत्रमा पर्ने पर्यटकीयस्थल टोड्केमा पूर्वाधार बनाउन तीन योजना सञ्चालनमा आएका छन्। रघुगङ्गा गाउँपालिकाले एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान, सडक र उच्च स्थानको खेलमैदान निर्माण गर्न लागेको हो।
गाउँपालिका र पर्यटन मन्त्रालयको लागत साझेदारीमा झिँबाट टोड्के जोड्ने पदमार्ग निर्माण भइरहेको छ, झिँ–टोड्के सडक र टोड्के हाइअल्टीच्युड खेलमैदान निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। गाउँपालिकाका इञ्जीनियर सुदीप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुईवटा प्रतिक्षालय र दृष्यावलोकन गर्ने स्थलसहितको उद्यान बनाउन लागिएको जानकारी दिए।
यसैगरी ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्शनसँग २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ। सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा बिछ्याएर सोलिङ गर्ने पनि योजना बनेको छ।
टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए। खेलमैदान निर्माण गर्न ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो।
धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावनासमेत छ। स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जिर्णोद्धार गर्न विस्तृत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको छ।
निजी क्षेत्रले दुई वर्षअघि टोड्केमा घरबास र रिसोर्ट सञ्चालन गरेका थिए। दैनिक १०० जना बास बस्न सक्ने टोड्के घरबास तथा रिसोर्ट सञ्चालन भएपछि भ्रमणमा जाने पर्यटकलाई सहज भएको छ।