काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सबै निर्माण कम्पनीहरु सार्वजनिक कम्पनीमा जानुपर्ने बताएकी छन्। १४ औँ राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको प्रभातफेरिको उद्घाटन गर्दै मन्त्री झाँक्रीले सार्वजनिक क्षेत्रको काम गर्ने सबै कम्पनी ढिलोचाँडो अनिवार्य सार्वजनिक कम्पनीमा जानुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘सार्वजनिक क्षेत्रको काम गर्ने सबै कम्पनी ढिलो चाँडो अनिवार्य सार्वजनिक कम्पनीमा जानुपर्छ। सरकारको पैसाबाट खर्च गर्ने कम्पनीहरुको लाभाशं नागरिकले पनि पाउनुपर्छ। तपाइँहरुको कम्पनी सार्वजनिक भयो, आइपीओ जारी गर्नुभयो भने १० कित्ता सेयर प्राप्त गर्ने नागरिकले पनि फाइदा पाउन सक्छ। त्यसकारण भोलिको दिनमा हाम्रा निर्माण व्यवसायहरुको इज्जत पनि रहने र तपाइँको कामको जिम्मेवारी नागरिकले लिनका लागि यो व्यवस्था फेरिनुपर्छ।’
मन्त्री झाँक्रीले हजारौँको संख्यामा निर्माण व्यवसायी भएको भन्दै ठूला ठूला पूँजी भएका कम्पनी सार्वजनिक कम्पनीको रुपमा जानुपर्ने बताइन्। उनले सबै कम्पनीहरु मर्ज गरेर ठूलो कम्पनी बनेमा नयाँ वा पूरानो कम्पनीको अर्थ नरहने र सबै सेवामा निर्भर हुने बताइन्।
मन्त्री झाँक्रीले निर्माण व्यवसायीका लागि आफूहरुले बैंकबाट ऋणस्वरुप अग्रिम पैसा उपलब्ध गराउने विषयमा पनि छलफल गरिरहेको बताइन्। उनले भनिन्, ‘तपाइँहरु अहिले ५ प्रतिशत धरौटीको कुरा गर्नुहुन्छ हामीले बैंकबाट ऋण प्रवाह गर्ने, पहिले नै पैसा प्रवाह गर्ने जस्ता केही विषयमा छलफल गरिरहेका छौँ। तर त्यसका लागि आजको निर्माण व्यवसायको संरचना पनि फेरिनुपर्छ।’
उनले पारिवारिक खालका २ इन्जिनियर, २ जेसिवि, २ वटा टिपर राखेर बनाइएको टुहुरे कम्पनीले काम नहुँने भन्दै व्यवसायीक संरचनामा परिवर्तन ल्याउन आग्रह गरिन्।
मन्त्री झाँक्रीले सबैभन्दा पहिले निर्माण व्यवसायीको कानुन फेर्नुपर्ने, व्यवसायीको सम्पत्तिको संरचना फेर्नुपर्ने, कम्पनीहरु मर्ज भएर कम्पनीको संख्या सानो बनाउनुपर्ने आवश्यकता औँल्याएकी छन्।
नेपालको विकास, समृद्धिका लागि निर्माण व्यवसायी जिम्मेवार र जवाफदेहि भएको भन्दै उनीहरुलाई इज्जतपूर्ण व्यवहार दिनुपर्ने उनको भनाइ छ। तर व्यवसायीहरुले पनि आफूले इज्जतपूर्ण व्यवहार प्राप्त गर्ने व्यवसायीक छवि तयार गर्नुपर्ने मन्त्री झाँक्रिले बताइन्।
उनले योजना छनौटदेखि कार्यान्वयनसम्मका अवस्थालाई योजनाबद्ध ढंगले अगाडि लैजानुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायका क्षेत्रमा देखिएको समस्या समाधानका लागि सरकारले सम्बोधन गर्दै आइरहेको बताए। खरिद नियमावलीको ११ औँ शंसोधनमा निर्माण उद्योगमा भएको थप समस्या समाधानका लागि तयारी भइरहेको समेत उनले जानकारी दिए।
बैंकहरुले लोन दिन नसक्दा आफूहरुले काम अघि बढाउन नसकेको भन्दै सरकारले चाँडै ५ प्रतिशत धरौटी रिलिज र प्याकेजिङ गरिदिनेमा अध्यक्ष सिंहले विश्वास व्यक्त गरे।
नेपाल निर्माण व्यवसायी महासंघले आज निर्माण दिवसका अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। आज बिहानको प्रभातफेरि सम्पन्न भएपछि महासंघले आफ्नै कार्यालय अनामनगरमा रक्तदान कार्यक्रम गरिरहेको छ।