काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन्।
२०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गरेका छन्। भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी रहेका छन्। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरुबाट भएको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो।
यसैगरी पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको जानकारी दिएका छन्।
अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ। सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत आयोजना हुने भएको छ।भर्चुअल र भौतिक रुपमा भएको उक्त सम्मेलनमा भर्चुअल तर्फ ७०० विदेशी रहेका छन्। यसअघि विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो।
सो सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो। उक्त सहयोग रकम राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ रहेको थियो। त्यसमध्ये पनि ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो। यसर्थ विपद्को समयमा हुने अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता अनुरुप नेपालले प्राप्त गरेको उक्त सहयोग अन्य मुलुकको तुलनामा उल्लेखनीय रहेको छ।