काठमाडौं। वीरगञ्ज-पथलैया सडकलाइ फागुनसम्म कालोपत्रे गर्न निर्देशन दिइएको छ। वीरगञ्जस्थित ड्राइपोर्ट, आईसीपी, वीरगञ्ज भन्सार कार्यालयदेखि पथलैयासम्म सवारी चाप अत्यधिक छ। मालबाहक, सार्वजनिक र निजी सवारी मात्रै हैन, भारतीय सवारी साधन पनि यस खण्डमा कुद्ने गर्दछन्।
सवारी साधनलाई सरल तरिकाले आवतजावत गर्न मिलोस् भनेर व्यापारिक मार्ग विस्तार अयोजना (वीरगञ्ज पथलैया सडक) को काम आर्थिक वर्ष २०७२/७३ बाटै शुरु भएको भएतापनि उक्त आयोजनाको काम कछुवा गतिमा अगाडी बढेको छ।
वीरगञ्ज-पथलैया औद्योगिक करिडोरमा साना-ठूला गरी दुई हजार भन्दा बढी उद्योग छन्। ती उद्योगका लागि तीन वटै नाकाबाट औद्योगिक कच्चा पदार्थ भित्रिने गरेको पाइन्छ।
बारा, पर्सा हुँदै भारतीय सीमासम्म जोडिने ३०.६८ किलोमिटर सडक बनेपछि लाभ हुनेमा व्यवसायी पनि विश्वस्त थिए। तर विगत ६ वर्षदेखि सर्वसाधारणलाई सडक निर्माणको नाममा सास्ती मात्रै मिलिरहेको छ। ड्राइपोर्टदेखि सडकको दायाँ-वायाँ २५.२५ मिटर फराकिलो ६ लेन कालोपत्रे सडक देख्ने सपना अधुरै रहेको छ।
शुरुमा जीतपुरमा घर टहरा नभत्केर काम अघि बढेन भनियो, घर टहरा भत्काएको पनि तीन वर्ष वित्न लाग्यो, तर कहिले कोरोना, कहिले वर्षा कहिले के बहाना गरेर काम गर्दैर्नन्। अहिले भने काम शुरु भएको छ, काम छिट्टै सकिन्छ भन्ने आशा देखाएका छन्।