काठमाडौं। पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिएको छ । आइतबार पोखरामा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन्।
प्रदेश, महानगर, छिमेकी स्थानीय तह, स्थानीयवासी र सङ्घ, संस्थाको सहभागितामा आइतबार एक वृहत सामारोहको आयोजना गरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको छ। पोखरालाई पर्यटनको राजधानी घोषणा गरेसँगै लेकसाइडसहित सहरका मुख्य क्षेत्र चौबिसै घण्टा खोल्न पाइने भएको छ । अहिलेसम्म पोखराको पर्यटकीय क्षेत्र लेकसाइडका आधा दर्जन होटल, बारले चौबिसै घण्टा खोल्ने अनुमति पाए पनि अरू बजार राति १० बजेपछि बन्द हुने गरेका थिए ।
पहिलो चरणमा महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वी चोक, नागढुङ्गा, मुस्ताङ चोक, राष्ट्र बैङ्क चोक, ड्यामसाइड, लेकसाइड हुँदै हल्लन चोकसम्म चौबिसै घण्टा खुला गर्न पाइने छ । व्यापार, व्यवसाय खुला राख्न मिल्ने क्षेत्रका व्यवसायी र व्यावसायिक फर्मले ४३ मापदण्ड पूरा गरी रातभर व्यवसाय खोल्न पाउने छन् ।
छ अर्बभन्दा बढी लगानी भएको गण्डकीको पर्यटन क्षेत्रमा यसले आशाको सञ्चार भएको व्यवसायीहरुको भनाइ छ।