बिर्तामोड। सुगम जिल्लाका रूपमा चिनिएको झापाको शिवसताक्षी नगरपालिकामा सडक कालोपत्रे हुन थालेसँगै स्थानीयबासी हर्षित भएका छन् । झापा शिवसताक्षीको रिङरोडअन्तर्गत व्याङ्गडाँडा माइधार सडक र समृद्धि चोक दक्षिणको सडक कालोपत्रे भएसँंगै त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित भएका हुन् ।
शिवसताक्षी–७ स्थित व्याङ्गडाँडा– माइधार १८ सय २० मिटर र शिवसताक्षी–१ को समृद्धि चोकदेखि दक्षिण जाने एक हजार १० मिटर सडक कालोपत्रे भएसँंगै कच्ची र धूले सडकको यात्राबाट आजित स्थानीय बासिन्दामा खुशीयाली छाएको हो । व्याङ्गडाँडा–माइधार सडक नेपाल सरकार समपूरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा एक करोड ७१ लाख रुपैयाँको लागतमा निर्माण गरिएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए।
त्यस्तै नेपाल सरकार समपूरक अनुदान र शिवसताक्षी नगरपालिकाको साझेदारीमा दक्षिण रिङरोडअन्तर्गत समृद्धि चौक दक्षिण सडक ९४ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उनले बताए । दुवै सडक उक्त सडक ५.५ मिटर चौडा रहेको शिवसताक्षी नगरपालिकाका इन्जिनियर कृष्ण राईले जानकारी दिए। शिवसताक्षी नगरपालिकाले शिवसताक्षी नगर गौरवको योजनाअन्तर्गत शिवसताक्षी नगरका सबै वडालाई सडक सञ्जालमा जोड्ने उद्देश्यले रिङरोडको अवधारणा ल्याएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए ।
उनले शिवसताक्षी नगरमा निर्वाचित पहिलो जनप्रतिनिधिले सुरु गरेको उक्त योजनालाई कार्यान्वयन गर्ने क्रममा हाल बाँकी रहेका स्थानमा कालोपत्रे गर्ने काम भएको बताए । विकासको पूर्वाधार सडक पनि एक भएकाले सडक सञ्जाल सबै वडामा जोडिए त्यहाँ उत्पादन भएका वस्तु निर्यात गर्न सहज हुने भएकाले शिवसताक्षी नगरपालिकाले नगर गौरवको आयोजना सम्पन्न गर्न तीव्र गतिमा काम गरेको उनको भनाइ छ । रिङरोड सडकमा पर्ने ५३ वटा ठूलासाना पुल, कल्भर्ड भने यसअघि नै निर्माण भइसकेको उनले बताए ।
३९ किलोमिटर रहेको रिङरोड सडकमध्ये धरपुर दक्षिण र बोलोचोक शिवगन्ज १० किलोमिटर २०७८ सालअघि नै कालोपत्रे निर्माण भएको र गएको वर्ष सोहीअन्तर्गतको माइधार दोमुखा तीन किमि सडक पनि कालोपत्रे भइसकेको, रिङरोड सडकअन्तर्गतकै शिवगन्जदेखि व्याङ्गडाँडासम्मको सडक पनि कालोपत्रे भइसकेको उनको भनाइ छ । मुलुक संघीयतामा गएसँगै स्थानीय तहको निर्वाचनपछि अहिले विकास निर्माणका कामले गति लिएको बताउँदै उनले सडक कालोपत्रे गरिएसँगै आवागमनमा सहज हुने जनाए ।
वर्षौंदेखि धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य स्थानीयबासी अहिले सडक कालोपत्रे भएसँगै हिउँदमा धुलो र वर्षामा हिलैहिलो हुने समस्या हटेर गएको बताउँछन् । सडक कालोपत्रे गर्नुअघि वर्षात्को समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पानी जम्ने गरेकाले कोही बिरामी हुँदा एम्बुलेन्स ल्याउने अवस्था नरहेकोमा अहिले सडक कालोपत्रे भएसँगै त्यो सबै समस्या हटेर गएकोमा स्थानीयबासी खुशी देखिएका छन् ।
शिवसताक्षीको रिङ्गरोडअन्तर्गतका सडक कालोपत्रे गरेर चिल्लो बनाइएका कारण स्थानीयवासीलाई आवागमनमा सहजता भएको छ । स्थानीय तहको निर्वाचनअघि झापाका मुख्य शहर विर्तामोड, दमक, अर्जुनधारा, काँकडभिट्टा र भद्रपुर जोड्नेबाहेक अन्य सडक पक्की थिएनन् तर स्थानीय तहको निर्वाचनबाट जितेर आएका जनप्रतिनिधिले आफ्नो पहिलो प्राथमिकतामा सडकलाई राखेका कारण अधिकाँश सडक कालोपत्रे भएको छ । कारोबार दैनिकबाट