लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिकाले पालिकाभित्रका विभिन्न वडामा रहेका सार्वजनिक जग्गामा बनेका निजी संरचना हटाउन आग्रह गरेको छ । केही महिना अघिबाट सार्वजनिक जग्गा खोजी सुरु गरेको नगरपालिकाले पहिचान भएका सार्वजनिक जग्गामा बनेका निजी संरचना हटाउन सम्बन्धित व्यक्तिलाई आग्रह गरेको हो ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिकाभित्रको वडा नम्बर ६, ७, ८ र ९ अन्तर्गत पहिचान भएका सार्वजनिक जग्गामा बनेका निजी संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको छ।
छानबिन समितिले रेखांकन गरेको सो जग्गामा निर्माण भएका स्थायी तथा अस्थायी संरचना हटाउन नगरपालिकाले ३५ दिने सूचना सार्वजनिक गरेको हो ।
छानबिन समितिको निर्णयअनुसार नगरपालिकाभित्र रहेका सार्वजनिक, ऐलानी, पर्ती, गौचरन, खर्क, कुलो, राजकुलो, भीर, पाखो, वन, विद्यालय, मठमन्दिर, खोला, नदी, खोल्सोलगायत नगरपालिकाको क्षेत्राधिकारभित्र रहेका जग्गामा बनेका संरचना हटाउन आग्रह गरिएको नगरपालिकाले जनाएको छ।